विराटनगर, बैशाख ९
मोरङको पथरीशनिश्चरेमा एक २९ वर्षीया व्यवसायी महिलाको शव रहस्यमय अवस्थामा फेला परेको घटनामा प्रहरी अनुसन्धान फितलो भएको भन्दै स्थानीयले प्रहरी विरुद्ध नारावाजी गर्दे ३ घण्टा पथरी चोकमा यातायात वन्द गराएका छन् ।
पथरी उद्योग वाणिज्य संघ र लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ पथरी योङ हार्टको अगुवाईमा स्थानीयले रीना वस्नेतको रहस्यमय मृत्युको सत्यतथ्य पत्ता लगाउन माग गर्र्दै इलाका प्रहरी कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउन गएका थिए ।
सो क्रममा प्रहरी प्रमुख कमल बजगाईंले अनुसन्धानको प्रक्रियामा रहेको र हालसम्म यकिन गर्ने तथ्य फेला नपरेको जवाफ दिएपछि स्थानीयले कार्यालय परिसरमै नारावाजी गरेका थिए ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा महिला जनप्रतिनिधि समेत प्रहरी कार्यालय पुगेर घटनाको अनुसन्धान प्रगति बारे जानकारी लिएको थियो ।
त्यसमा स्थानीय महिलाहरुको उल्लेख्य उपस्थिती रहेको थियो । प्रहरीले प्राविधिक कुरा मात्र बोलेर चित्तवुझ्दो जवाफ नदिइ अनुसन्धान प्रक्रियामा सक्रियता नदेखाएको आरोप लगाउँदै त्यहाँबाट निस्केको स्थानीयको समूहले जाँते मोडमा आएर यातायात अवरुद्ध गर्दै प्रहरी प्रशासन विरुद्ध नारावाजी गरेका थिए ।

प्रर्दशनका कारण सडक अबरुद्ध भएपछि शसस्त्र प्रहरीको टोलीले स्थानीयलाई तितरवितर पारेर सडक सुचारु बनाएको थियो । पथरीशनिश्चरे १ त्रीवेणी चोक साझा लाइनमा डेरा वस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर रीना (रुपा) बस्नेतको रहस्यमय मृत्यु भएको थियो ।
शुक्रवार राती पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी वस्नेत शनिवार विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन ।
टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव विहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए । शरीरमा कुनै लुगा नभएको अवस्थाको शवलाई स्थानीयले लुगाले ढाकिदिएका थिए ।
प्रहरीले हत्या नै भएको कुराको प्रमाण फेला नपरिसकेको बताएपनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दावी गरेका छन् । मृतक रिनाका श्रीमान भने वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेको बताइएको छ ।