विराटनगर, बैशाख १०
मोरङको पथरीशनिश्चरे त्रिवेणी चोक साझा लाइनमा डेरा गरी वस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर २९ बर्षीया रीना बस्नेतको रहस्यमय मृत्यु पछि एक ब्यक्ति पक्राउ परेका छन् ।
रिनालाई बारम्बार फोन गर्ने कमल नेपाललाई प्रहरीले सोमबारराति बेलबारीबाट पक्राउ गरिएको जनाएको छ । कमलले रिनालाई शुक्रबार दिनभरी र रातको १२ बजेसम्म फोन गरेको मृतक रिनाका छोरा साइमनले बताएका थिए । त्यसैगरी मामाघर जाँदा साइमनलाई मोवाइल ट्याब दिएको र रिनालाई बेला बेलामा सपिङ गर्ने पैसा दिने गरेको छोराको बयानकै आधारमा कमललाई प्रहरीले पक्राउ गरेको हो ।
कल डिटेलमा पनि कमलसँग कुरा गरेको पाइए पछि इलाका प्रहरी कार्यालय पथरीले नेपाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर कमल बजगाईले जानकारी दिए ।
शुक्रवार राती पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १४ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी वस्नेत शनिवार विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीले हत्या नै भएको कुराको प्रमाण फेला नपरिसकेको बताए पछि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दावी गदैं हत्यारा पत्ता लगाएर कारवाही गर्न दवाव पथरी बजार बन्द गराएका छन ।