बिराटनगर, बैशाख १०
प्रदेश नं १ का प्रदेश सभा सदस्यले प्रदेश सरकारसंग प्रदेश १ र २ को सिमा विवाद सुल्झाउन माग गरेका छन् । उदयपुरका प्रदेशसभा सदस्य नारायण मगरले मंगलबार बसेको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै उदयपुरको त्रियुगा र कटहरी नगरपालिकाको केही वडा भित्र पर्ने चुरे भु–भाग प्रदेश नं २ ले आफनो दाबी गरेकोले ति भु–भाग प्रदेश नं १ मा ल्याउन सदन मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले कटहरी र त्रियुगा नगरपालिका अन्तर्गत पर्ने चुरे भु–भागको लालपूर्जा र त्यस क्षेत्रका बासिन्दाको नागरितापनि प्रदेश नं १ मा कायम भएको भएपनि प्रदेश नं २ सरकारले आफनो भु–भाग भएको दाबी गदै आएको सदनलाई जानकारी गराएका थिए ।
यसैबीच सामाजिक विकास समितिका सभापति सरिता थापाले मंगलबारको प्रदेशसभा बैठकमा प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको संशोधनसहितको प्रतिवेदन पेश गरेकी थिइन् ।
प्रदेश सभाको ५० औ बैठकमा पेश भएको सो विधेयकमा सत्तापक्षका १० जना प्रदेश सभा सदस्यले संशोधन हालेका थिए । सो विधेयक समितिमा दफावार छलफल भई प्रदेश सभाको बैठकमा संशोधनसहितको प्रतिवेदन पेश गरिएको हो ।
प्रदेश सभाको बैठकमा नेकपाको संसदीय दलकले विषेश समय माग गरेको थियो । बिषेश समयमा बोल्दै प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेतले कुलुङ जातिको वृति विकासका लागि वाधा पुगेको भन्दै यो जातिलाई आदिबासी जनजाति र अल्पसंख्यक जातिको रुपमा सुचिकृत गर्न सम्बन्धित निकायलाई प्रदेश सभा मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।