एजेन्सी, बैशाख ११
जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को ४१ औं खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्स अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।ओपनर शेन वाटशनले शानदार ब्याटिङ गरेपछि घरेलु मैदानमा १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले १ बल अगाडी ४ विकेटको क्षतिमा पुरा गर्यो ।
चेन्नईको जितमा ओपनर शेन वाटशनले सानदार ब्याटिङ गरेपनि शतक बनाउन ४ रनले चुके । १८ ओभरको पहिलो बलमा भुवनेश्वर कुमारले विकेटकीपर जोनी बेयरस्ट्रोबाट उत्कृष्ट क्याच गराएपछि वाटशन ९६ रनमा पेभिलिएन फर्के । वाटशनले ५३ बलमा ९ चौका र ६ छक्का प्रहार गरे ।
त्यस्तै सुरेश रैनाले २४ बलमा ६ चौका र १ छक्का सहित ३८,फाफ डु प्लेसिस १ र आम्वाती रायुडु २१ रनमा आउट भए । केदार जाधव ११ रनमा अविजित रहे । हैदरावादका लागि भुवनेश्वर कुमार,सन्दीप शर्मा र राशिद खानले समान १ विकेट लिए । यो जितसँगै चेन्नईको प्ले अफ लगभग पक्का पक्कि बनेको छ ।
त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । हैदरावादका लागि मनिष पान्डेले सर्वाधिक ८३ रनमा अविजित रहे पनि टोलीको हार टार्न सकेनन् । पान्डे ४९ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।
हैदरावादलाई बलियो अवस्थामा पुर्याउन मनिष पान्डे र डेविड वार्नरले दोस्रो विकेटका लागि १ सय १५ रनको शतकीय साझेदारी गरेका थिए । १४ ओभरको तेस्रो बलमा हरभजन सिंहले विकेटकीपर महेन्द्र सिंह धोनीबाट स्टमम्ङि आउट गराउनु अघि वार्नरले ४५ बलमा ३ चौका र २ छक्का सहित ५७ रनमा आउट भए ।
अर्का ओपनर जोनी बेयरस्ट्रोलाई हरभजनले धोनीबाट दोस्रो ओभरको तेस्रो बलमा शून्यमा क्याच आउट गराए । विजय शंकर २६ रनमा आउट भए । चेन्नईका हरभजन सिंहले २ र दिपक चाहरले १ विकेट लिए ।
यो जितसँगै चेन्नई शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईले ११ खेलमा ८ मा जित र ३ मा हारका साथ १६ अंक जोड्दै चेन्नई शीर्ष स्थानमा छ । ११ खेलमा ७ मा जित र ४ मा पराजित भएको दिल्ली क्यापिटल्स १४ अंकका साथ दोस्रो स्थानमा छ भने मुम्बई १० खेलमा ६ मा जित र ४ मा हारका साथ तेस्रो स्थानमा छ ।