एजेन्सी, बैशाख १२
जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को ४२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलाभने पन्जावलाई १७ रनले पराजित गरेको छ ।बेंगलोरको घरेलु मैदान चिन्ना स्वामी स्टेडियममा २ सय ३ रनको विजयी लक्ष्य पछ्याएको पन्जावले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८५ रन बनाउन सक्यो ।
पन्जावका ओपनर केएल राहुलले २७ बलमा ७ चौका र १ छक्का सहित ४२, क्रिस गेल २३,मयंक अग्रवाल ३५ र डेविड मिलर २४ रनमा आउट भए ।त्यस्तै निकोलस पुरनले २८ बलमा ५ छक्का र १ चौका सहित ४६,रविचन्द्र आश्विन ६ रनमा आउट हुँदा मन्दीप सिंह ४ र मुरुगन आश्विनद १ रनमा अविजित रहे । बेंगलोरका उमेश यादवले ३,नन्दीप सैनी २,मार्कस स्टोइनिस र मोइन अलीले समान १ विकेट हात पारे ।
त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रन बनाएको थियो । बेंगलोरलाई विशाल योगफलमा पुर्याउन एवी डी भिलियर्स ८२ रनमा अविजित रहे । उनले ४४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे ।
डी भिलियर्सले १९ औं ओभरको तेस्रो,चौथो र पाँचौ बलमा मोहम्मद शामीलाई लगातार छक्का प्रहार गर्दै कुल २१ रन बटुलेका थिए । त्यस्तै अन्तिम ओभरमा हार्डस विलोजेनलाई मार्कस स्टोइनिसले समान २ छक्का र चौका साथै एवी डी भिलियर्सले १ छक्का सहित २७ रन बटुलेपछि बेंगलोरले विशाल योगफल तयार पारेको हो ।
बेंगलोरले चौथो ओभरको पहिलो बलमा कप्तान विराट कोहलीलाई १३ रनमा गुमाएको थियो । मोहम्मद शामीले मन्दीप सिंहबाट क्याच आउट गराउनु अघि कोहलीले ८ बलमा २ चौका प्रहार गरे । सातौ ओभरको दोस्रो बलमा मुरुगन आश्विनले कप्तान रविचन्द्र आश्विनबाट पार्थिव पटेललाई ४३ रनमा क्याच आउट गराए । पटेलले २४ बलमा ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै मोइन अली ४ र अक्षयदीप नाथ ३ रनमा आउट भएपछि बेंगलोर समस्यामा परेको थियो ।
पाँचौ विकेटका लागि डी भिलियर्स र मार्कस स्टोइनिसले ११ ओभरमा १ सय २१ रनको अविजित साझेदारी गर्दै बेंगलोरलाई विशाल योगफल सम्म पुर्याए । स्टोइनिसले ३४ बलमा २ चौका र ३ छक्का सहित ४६ रनमा अविजित रहे । पन्जावका मोहम्मद शामी,मुरुगन आश्विन,रविचन्द्र आश्विन र हार्डस विलोजेनले समान एक विकेट लिए ।
यो जितसँगै बेंगलोर ११ खेलमा ७ मा हार र ४ मा जितका साथ साँतौ स्थानमा उक्लिएको छ । ११ खेलमा ८ मा जित र ३ मा हारका साथ चेन्नई शीर्ष स्थानमा छ भने ११ खेलमा ७ मा जित र ४ मा हारका साथ दिल्ली दोस्रो स्थानमा छ ।