चितवनमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु

चितवनमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु

रत्नननगर,बैशाख १२

चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारदेखि शुरु भएको छ । डोजर र ग्रेडरले मैदानको मुख्य ठाउँ सम्याउन शुरु गरिएको हो ।

मैदानमा पिच निर्माणको प्रारम्भिक काम गर्न नेपालका क्युरेटर कोमल पाण्डेले माटोको प्रकृतिबारे जाँच गरेका छन् । उनका अनुसार रङ्गशाला निर्माण हुन लागेको ठाउँको माटो क्रिकेट पिच निर्माण गर्न उपयुक्त छ । ‘पिच निर्माण गर्न पानी सोस्न सक्ने माटो चाहिन्छ’, उनले भने, ‘यहाँको माटोमा त्यो गुण भेटियो । माटो तत्काल फिलिङ गर्नुपर्ने देखिएन् । पिचका लागि थप माटो चाहिए तनहुँबाट ल्याउनुपर्छ ।’

उनले केही दिनसम्म चितवनमा नै बसेर रङ्गशालामा बन्ने क्रिकेट पिचका प्रारम्भिक काम अघि बढाउनेछन् । क्युरेटर पाण्डेले वर्षा अगाडि नै पिचसम्बन्धी आधारभूत संरचना बनाई सक्नुपर्ने बताए । रङ्गशालाको मैदानभित्र बन्न लागेको संरचनामा पर्र्ने रुखलाई काट्नुपर्ने भएकाले रुख कटानका लागि रामपुर कृषि क्याम्पसलाई पत्रचार गर्न लागिएको साइट इञ्चार्ज अर्जुन भुसालले जानकारी दिए ।

रङ्गशालाको अन्य संरचनाको डिपिआर करीब बनिसकेको छ भने मूल रङ्गशालाको डिपिआर बन्ने अन्तिम चरणमा रहेको धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । उनका अनुसार डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कन (इएआई) को काम सँगसँगै बढाइएको छ ।

रङ्गशाला बन्ने क्षेत्रलाई जस्ताले बार्ने काम, रङ्गशाला निर्माण कार्यालय भवन, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी घरलगायतका आवश्यक संरचना निर्माण भइसकेका छन् । रङ्गशाला निर्माण गर्न हालसम्म करीब रु ८० लाखको खर्च भएको छ ।

जेठ महिनासम्ममा रु ५० करोड सङ्कलन गरी आवश्यक निर्माण सामग्री जम्मा गर्ने तयारी भइरहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए । हालसम्म रु ६ करोड सङ्कलन भएको फाउण्डेसनले जनाएको छ । कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान शुरु गरिने बताए ।

आगामी भदौमा निर्माणको शिलान्यास गर्ने योजना रहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए । नागरिकको सहयोगमा निर्माण गर्न लागिएको रङ्गशालाको निर्माणमा रु तीन अर्ब लाग्ने धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयको २० बिघा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको छ ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.