काठमाडाैं : तराईमा लामखुट्टेबाट औलो संक्रमण हुनु सामान्य हो। अब औलो तराईमा सीमित छैन। उच्च पहाडी क्षेत्रसम्म फैलिन थालेको छ। एनोफिलिज प्रजातिको लामखुट्टे पहाडतर्फ चढेपछि औलो पनि सँगसँगै देखा परेको छ।
उक्त प्रजातिको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलो लाग्छ। अन्नपूर्ण पोस्ट दैनिकका अनुसार वायुमण्डलमा तातोपन बढ्दा एनोफिलिज लामखुट्टेका लागि उच्च पहाडी क्षेत्रको वातावरण अनुकूल बनेको विशेषज्ञ बताउँछन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालले भने, ‘औलो पहाडतिर देखा परेको छ। यो चिन्ताको विषय हो।’ विज्ञका अनुसार बाजुरा, बैतडी, मुगु र हुम्लामा एनोफिलिज पोथी लामखुट्टे देखापरेको छ।
मुगुको खत्याड र बाजुराको हिमाली गाउँपालिकामा झुुल वितरण गरी विषादी छर्किएको स्वास्थ्य सेवा विभागले जनाएको छ। सरुवा रोगविज्ञ डा। सुमन थापाका अनुसार दुई वर्षअघि मुगुका चारजनामा औलो देखापरेको थियो।
‘पानीघट्ट, कुलो र खेतमा फुल पारेर लामखुट्टेको संख्या बढेको छ। तर चेतना स्थानीयमा छैन। ज्वरो आएपछि पनि सामान्य भन्दै हेलचेक्र्याइँ गर्ने प्रवृत्ति छ,’ डा.थापाले भने।
आर्थिक वर्ष ०७४\०७५ मा औलोका बिरामी बढी देखिएका १० जिल्लाभित्र मुुगु, बाजुरा, बैतडी पनि छन्। मुगुमा एक सय ४३, बाजुरामा ६०, बैतडीमा ३३ र अछाममा ३२ औलोका बिरामी फेला परेको रोग नियन्त्रण महाशाखाले जनाएको छ।, याे खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ।