काठमाडौं, वैशाख १६
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचनमा जनाएको प्रतिबद्धता अनुसार नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री निवासमा सोमबार बसेको सचिवालय बैठकले निर्वाचनमा जनाएको प्रतिबद्धता अनुसार नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाएको हो ।
‘समृद्ध नेपाल सुःखी नेपाली’को नारालाई व्यवहारमा अनुवाद हुनेगरी नीति तथा कार्यक्रम बनाउन नेकपाले भनेको छ । आगामी २० गते शुक्रबार नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने सरकारको तयारी छ ।
बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नीति तथा कार्यक्रम ल्याउँदा मुलुकमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई व्यवहारमा अनुवाद गर्ने गरी ल्याउन सरकारलाई सुझाव दिइएको जानकारी दिए । संसदको वर्षे अधिवेशन आजबाट सुरु हुँदैछ । संविधान अनुसार आगामी जेठ १५ गते सरकारले संघीय संसदमा बजेट पेश गर्नेछ ।