काठमाडौं, वैशाख १६
संस्थागत (निजी) विद्यालयको शुल्क वृद्धि गर्ने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । शैक्षिक सत्र २०७६ का लागि २७ प्रतिशतसम्म वृद्धि गर्ने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध सर्वोच्चमा नेविसंघ नेता कुन्दनराज काफ्लेले रिट दर्ता गरेका हुन् ।
निशुल्क शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने माग गर्दै उनले रिट दायर गरेका हुन् । काफ्लेको वारेसमा अधिवक्ता राजकुमार उप्रेतीले अदालतमा रिट दायर गरेका हुन् ।
रिटमा संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने उल्लेख भएपनि सरकारी तथा निजी विद्यालयले मनपरी शुल्क असुल गरिरहेको उल्लेख गरिएको छ । रिटको पेशी आगामी वैशाख २० गतेको लागि तोकिएको छ ।