काठमाडौं, वैशाख १९
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को विवाद अन्त्य गर्न अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग छलफल गर्न सरकारलाई आग्रह गरेका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले बिहीबार आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा कप्तान पारसले लामो समयदेखि क्यान निलम्बनमा हुँदा नेपाली क्रिकेटले थप उचाई लिन नसकेको गुनासो गरे । मन्त्री र सदस्य सचिवहरुले आईसीसीसँग कुरा गरेर फुकुवा गर्नुपर्ने उनले बताए ।कप्तान पारसले एकदिवसीय मान्यतालाई टिकाई राख्न पनि क्यान आउनुपर्ने जिकिर गरे ।
पारसपछि सम्बोधन गरेका मन्त्री जगतबहादुर विश्वकर्माले भने त्यसबारे केही प्रतिक्रिया दिएनन् । राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले भने छलफल गरिरहेको र सो विषयमा प्रधानमन्त्रीबाट पनि चासो आएको जानकारी दिएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको तीन वर्ष नाघिसक्यो । यो बीचमा खेलाडीहरुले एकपछि अर्को सफलता पाए । नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता पाएको पनि एक वर्ष नाघिसक्यो तर, क्रिकेट संघको विवाद अझै समाधान भएको छैन ।
क्यान नहुँदा घरेलु संरचना बन्न सकेको छैन भने अन्तराष्ट्रिय म्यानहरु पनि गराउने अवसर गुमेको छ । नेपालले पछिल्लो पटक गत फेब्रुअरीमा यूएईसँग एकदिवसीय र टी–२० सिरिज खेलेको थियो । त्यसपछि यूएईले जिम्बाब्वेसँग सिरिज खेलिसक्यो तर, नेपालका खेलाडीहरु फुर्स्दिला छन् । अब अर्को खेल कहिले हुने कुनै टुंगो छैन ।
क्यान नभएकै कारण यस्तो भएको नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा बताउँछन् । उनले यूएईले नेपालपछि अर्को सिरिज खेलिसक्यो, तर नेपालले भने आईसीसीलाई प्रपोजल हाल्नुपर्ने भन्दै आक्रोश पनि व्यक्त गरे ।