काठमाडौँ, बैशाख १९
बंगालको खाडी र भारतको आन्ध्रप्रदेशबाट अघि बढेको शक्तिशाली फानी आँधीले पूर्वी नेपालमा प्रभाव पार्नसक्ने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले एक सुचना जारी गर्दै शुक्रबार साँझसम्ममा उक्त आँधी पूर्वी नेपाल प्रवेश गर्ने सम्भावना रहेको जनाएको छ ।
उक्त चक्रवात नेपालमा आउने सम्भावना नदेखिएपनि भारी हिमपात, पानी र हावाहुरी आउनसक्ने अनुमान गरिएको छ । पूर्वी नेपाललाई छुँदै उत्तर पुर्व भारततर्फ नै फर्कने अनुमान गरिएको छ । यो आँधी भारतमा ४३ वर्षयता आएको सबैभन्दा शक्तिशाली आँधी भएको जनाइएको छ । यस्तो छ आँधीको पूर्वानुमान, ‘बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको धेरै शक्तिशाली चक्रवात फानी विस्तारै उत्तर पश्चिम दिशातर्फ बढिरहेको छ ।
शुक्रबारबाट यो प्रणाली भारतको उडिसा आसपासतिर मोडिने देखिन्छ । अहिले सम्मको पूर्वानुमान अनुसार यो चक्रबात शुक्रबार अपरान्हपछि नेपालको पूर्वी भूभाग नजिक हुँदै उत्तर–उत्तर पूर्व जाने क्रममा धेरै नै कमजोर हुने देखिन्छ । उक्त चक्रबात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएतापनि नेपालको पूर्वी र मध्य हिमाली भूभागमा भारी हिमपात तथा प्रिमनसुन भएकोले पूर्वी र मध्यका स्थानहरुमा हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहने भएकोले सर्तक रहनुपर्ने बताइएको छ ।