विराटनगर, बैशाख २०
विराटनगरको कोशी अञ्चल अस्पताल परिसरमा बर्थिङ सेन्टर निर्माण हुने भएको छ । अमेरिकाको सहयोगमा बन्ने सेन्टरको शुक्रबार उपप्रधान एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे र विराटनगर महानगरपालिकाका मेयर लगायतले बर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् ।
अमेरिकी दुतावास , अमेरिकी सेना लगायतको आर्थिक सहयोगमा बर्थिङ सेन्टर १ बर्ष भित्र सक्ने गरी निर्माण सुरु भएको हो । १२ करोडको लागतमा ३ कठ्ठा जमिनमा १ सय बेडको दुईतले बर्थिङ सेन्टर निर्माण सुरु भएको अस्पतालका मेसु डाक्टर रोशन पोखरेलले बताए । सम्पूर्ण सुविधा सहितको बर्थिङ सेन्टरले विराटनगरबासीलाई मात्र नभई पूर्व क्षेत्रका गरीब विपन्न वर्गका लागि सहज हुने अस्पतालले जनाएको छ ।
बर्थिङ सेन्टरको उद्घाटन गर्दे स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपाल सरकारले स्वास्थ्य नीति पारित गरी सकेको जानकारी दिँदै कोशी अस्पतालको सेवा सुविधा विस्तार गर्न संघीय सरकार लागि परेको बताए । यस्तै सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर स्वास्थ्य क्षेत्रको हब बन्दै गएको बताए ।
कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले गरीब र विपन्न वर्गको अस्पताल भनेर चिनिएको कोशी अस्पताललाई टिचिङ अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए । उनले स्थानीय सरकारको हैसियतले महानगरपालिका सहयोग गर्न तयार रहेको बताए ।