एजेन्सी, वेशाख २२
भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई एक रोड शोमा एक अज्ञात व्यक्तिले थप्पड हानेका छन् ।
केजरीवाल पश्चिम दिल्लीको मोतिनगर क्षेत्रमा पार्टीका उमेदवार बलबीर सिंह जाखडको साथमा प्रचारप्रसारमा थिए । रोड शोमा उनी एउटा खुला जीपमा सवार थिए ।
त्यही बेला टिशर्ट लगाएको एक व्यक्तिले जीपमा चढेर थप्पड हानेको भारतीय संचार माध्यामहरुले जनाएका छन । आम आदमी पार्टीले ट्विट गर्दै यो अरबिन्द केजरीवालप्रतिको हमला नभइ यो दिल्ली र यसको जनमतमाथिको हमला भएको जनाएको छ ।
दिल्लीबासीले १२ मेको दिन भाजपालाई यसको मुखतोड जवाफ दिने टिवट्मा चेतावनी दिइएको छ । आक्रमणपछि आइतबार आयोजित पत्रकार सममेलनमा केजरीवालले आफू माथिको आक्रमणका लागि बीजेपी जिम्मेवार भएको बताए ।
उनले आफनो पूर्ण सुरक्षाको प्रबन्ध केन्द्रीय सरकारले नगरेको समेत बताए । थप्पडको जवाफ दिल्लीका जनताले दिने उनको भनाइ छ । उनले आफूमाथि अहिलेसम्म ९ पटक आक्रमण भएको समेत बताए ।