एजेन्सी, बैशाख २३
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन्स लिगमा सानदार सुरुवात गरेकी छिन् । सावित्राको उत्कृष्ट प्रदर्शनमा उनी सम्मिलित सेथुले लिगको पहिलो खेलमा मणिपुर पुलिस स्पोट्र्स क्लबलाई ६–४ गोलले पराजित गर्यो । सेथुको जितमा सावित्राले ४ गोल गर्दै १ असिस्ट प्रदान गरिन् ।
पहिलो रोजाईमा परेकी सावित्राले २९ सेकेन्डमा नै गोल गर्दै सेथुलाई अग्रता दिलाएकी थिइन् । उनले १६ औं मिनेटमा सेथुको अग्रता दोब्बर पारिन् । २२ औं मिनेटमा सेथुको डिफेन्समा तालमेल नमिल्दा मणिपुरले आत्मघाती गोल उपहार पाएको थियो ।
खेलको ३४ औं मिनेटमा सावित्राले मिडफिल्डबाट ग्रेस दाङमेईको लामो पासलाई उत्कृष्ट नियन्त्रणमा लिएर पोस्टको दिशा दिँदै ह्याट्रिक पुरा गरिन् । ४१ औं मिनेटमा मणिपुरकी कप्तान बाला देवीले गोल गर्दै अग्रता घटाइन् । पहिलो हाफको इन्ज्युरी समयमा सावित्राले चौथो गोल गरेकी हुन् । उनले रतनबाला देवीको क्रसलाई सहजै गोलमा परिणत गरिन् ।
दोस्रो हाफको ६५ औं मिनेटमा मणिपुरका लागि आशारानी देवीले गोल गर्दै खेल ४–३ को स्थितिमा ल्याइन् । तर त्यसको दुई मिनेट नबित्दै ग्रेसले सहज गोल गर्दै २ गोलको अग्रता क्याम राखिन् । ७५ औं मिनेटमा सावित्राको पासमा दाङमेई ग्रेसले खालि पोस्टमा गोल गर्दै ६–३ ले अगाडी बढाइन् । दोस्रो हाफको इन्ज्युरी समयमा मणिपुरले अर्को गोल थपेपनि उक्त गोल सान्तवनामा सिमित भयो ।
यस जितसँगै सेथु लिगमा विजयी सुरुवात गरेको छ । यसै समूहको अघिल्लो खेलमा कोल्हापुरले बरोडालाई ४–३ ले पराजित गरेको थियो ।खेलमा नेपालकी अनिता बस्नेत भने पहिलो रोजाईमा पर्न सकिनन् ।