नेपालले टीयू मैदानमा अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने

नेपालले टीयू मैदानमा अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौं, बैशाख २४
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलहरु आयोजनाका निम्ति कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।

आईसीसीले जारि गरेको प्रेस रिलिज अनुसार नेपाल,ओमान र अमेरिका सम्मिलित सिरिज सन् २०२० फेब्रुअरी ५ देखि १२ सम्म ९२०७६ माघ २२ देखि २९० टीयू मैदानमा हुनेछ । आईसीसीले हालसम्म नेपालले प्रतियोगिताअन्तर्गत खेल्ने सुरुआती तीन सिरिजको मात्र स्थान टुंगो लगाएको छ ।

नेपालले फेब्रुअरी २०२० मा घरेलु मैदानमा सिरिज खेलेपछि नामिबिया र पपुवा न्यूगिनीमा अन्य दुई सिरिज खेल्नेछ । नामिबिया र नेपालसँगै स्कटल्यान्ड सम्मिलित सिरिज २०२० अप्रिल २० देखि २७ सम्म नामिबियामा हुनेछ । पीएनजीमा भने घरेलु टोलीसँगै यूएई र नेपाल सम्मिलित भएर सन् २०२० जुन ९ देखि १६ सम्म त्रिकोणात्मक सिरिज नै हुनेछ ।

त्यसपछि नेपाल, नामिबिया र स्कटल्यान्डले सन् २०२० को जुनमै अर्को सिरिज खेल्नेछन् । उक्त सिरिजको स्थान भने तय भएको छैन । नेपालले त्यसपछि जनवरी २०२१ मा ओमान र अमेरिका तथा फेब्रुअरी २०२१ मा यूएई र पीएनजीसँग खेल्ने कार्यक्रम रहेको छ । अगष्ट २०२१ मा अमेरिका र ओमानसँग सिरिज खेल्ने नेपालले नोभेम्बर २०२१ मा नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ । लिगको अन्त्य सन् २०२२ जनवरीमा यूएई र पीएनजीविरुद्ध सिरीज खेलेर हुनेछ ।

हरेक सिरिजमा नेपालले दुवै देशसँग २–२ पटक वान डे खेल खेल्नेछन् । त्यसबाहेक टोलीले अन्य खेल खेल्ने सम्भावना पनि रहन्छ । विश्वकप लिग २ अन्तर्गत हरेक टोलीले ३६ खेल खेल्नेछन् ।

यस प्रतियोगिताको शीर्ष ३ टोलीले आइसीसी विश्वकप छनोट २०२२ मा सिधै स्थान बनाउनेछन् । पुछारका ४ टोली भने विश्वकप छनोटको प्लेअफमा पुग्नेछन् । उक्त प्लेअफमा च्यालेन्ज लिगबाट आएका विजेतासँग अन्तिम छनोटका लागि प्रतिस्पर्धा गर्नुपर्ने छ ।(हाम्रो खेलकुदबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.