एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोइन ग्रिजम्यानले यो सिजनको अन्त्यसँग उनले क्लब छोड्ने बताएका छन् । मड्रिडमा ५ वर्ष बिताएका विश्वकप विजेता खेलाडी ग्रिजम्यानले शनिबार हुने क्लबको लेभान्टेविरुद्धको खेल एथ्लेटिकोबाट अन्तिम खेल हुने बताएका छन । उनलाई बार्सिलोनाले एक सय २० मिलियन युरोमा किन्न खोजेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले आफ्नो क्लब छोड्ने खबर सार्वजनिक गर्दै पछिल्लो ५ वर्षमा आफ्ना लागि निकै उत्साहपूर्ण रहेको बताउदै सबैलाई धन्यवाद दिए । एथ्लेटिकोबाट ५ वर्षमा दुई सय ५६ खेलमा एक सय ३३ गोल गरेका ग्रिजम्यान २०१४ मा रियल सोसिडाडबाट अनुबन्ध भएका थिए । गत वर्ष बार्सिलोनाको अफरलाई अस्वीकार गरेका उनलाई डिसम्बर २०१७ मा नियमविपरीत अनुबन्धको प्रयास गरेको थियो । यो सिजनमा एथ्लेटिकोबाट बाहिर हुने ग्रिजम्यान तेस्रो ठूलो खेलाडी हुन् । यसअघि लुकास हर्नान्डेज, डिएगो गोडिनले क्लब छोडिसकेका छन् ।