गुल्मी । आफ्नी दुई महिनाकी नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । आमासँगै रहेकी गुल्मी दरबार गाउँपालिका–४ की दुई महिने शिशुु बिष्णु वि.क बिहीबार बेलुकी मृत फेला परेपछि प्रहरीले मृतककी आमा ३५ वर्षीय जुना वि.कलाई पक्राउ गरेको हो । आमाको काखमा रहेकी मृत शिशुलाई उनकै आमाले हत्या गरेको हुनसक्ने आशंकामा परिवारले प्रहरीलाई खबर गरे पछि जिल्ला प्रहरी कार्यालय गुल्मीले शिशुकी आमालाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले बताएका छन् । मृतक शिशुुको शरीरमा कान नजिकै सामान्य चोट देखिएको हुँदा शवको पोष्टमार्टम र आमाको बयानपछि थप अनुसन्धान गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रहरीले जनाएको छ । शिशुको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल राखिएको छ ।