प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदमा पेश गरिएको मिडिया काउन्सिलसम्बन्धि विधेयक संविधानको मूल्य र मान्यता विपरित आएको दावी गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले संविधानको मूल्य र मान्यता विपरित प्रेस स्वतन्त्रतालाई संकुचन बनाउने गरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन् । बुधबार संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ समय लिएर बोल्दै उनले सो विधेयक सरकारले तत्काल फिर्ता नलिए आफ्नो पार्टीले अघि बढाउन नदिने चेतावनी पनि दिइन् । सचेतक भुसालले सरकारले संसदमा पेश गरेको सो विधेयक मुलुकको लोकतन्त्रले नचिन्ने र आफूहरुले नबुझ्ने भएकाले त्यसलाई सरकारले संसदबाट फिर्ता गराउनुको विकल्प नरहेको तर्क पनि गरे । मुलुकको लोकतन्त्रले नचिन्ने, नबुझ्ने सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गरेको सचेतक भुसालको भनाई थियो । सरकारले सो विधेयक तत्काल फिर्ता नलिए संसदबाट अघि बढाउन नसक्ने जानकारी समेत गराइन् । सचेतक भुसालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई भय र त्रासको वातावरण प्रवेश गराउने गरी आएको सो विधेयक आफ्नो पार्टीलाई स्विकार्य नहुने पनि स्पष्ट पारिन् । सरकारले राज्य नियन्त्रित कानुन बनाएर मुलुकलाई अधिनायकवादतर्फ उन्मुख गराउने खोजेको सचेतक भुसालको आरोप थियो ।