सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदुत ¥याण्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम संचालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । वरिष्ठ नेता नेपालले अन्तराष्ट्रिय ‘प्राक्टिस’ मै नभएको त्यस्ता संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरित हुने भएकाले संचालन नगर्न पनि राजदुत बेरीको ध्यानाकर्षण गराए । बुधबार संघीय संसद परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कूटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने पनि स्पष्ट पारेका हुन् । वरिष्ठ नेता नेपालले अमेरिकाप्रति संकेट गर्दै कूटनीतिक मर्यादाको पाठ सिकाउने देशहरुले त झन त्यसको पालना गर्नेपर्ने पनि उल्लेख गरे । सत्तारुढ नेकपाकै अर्का नेता भिम रावलले कूटनीतिक मर्यादा विपरित गएर अमेरिकी राजदुत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिए । उनले कूटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदुत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अनुमति नरहेको दावी पनि गरे ।