भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली बनेर उदाएका छन् । उनी दोस्रो कायकालका लागि प्रधानमन्त्री बन्ने पकका भएको छ ।
लोकसभा चुनावमा मोदी नेतृत्वको भाजपा (भारतीय जनता पार्टी) ले दर्बिलो बहुमत प्राप्त गरेको छ । भाजपाले २९९ सिटमा जितिसकेको छ । ४ सिटमा अग्रता लिएको छ । विपक्षी कंग्रेस आईका उम्मेदवाले ५२ सिटमा जित हासिल गरेका छन । २०१४ को लोकसभा चुनावमा ४४ सीट जितेको कंग्रेस आइले केही सीट बढाउनबाहेक कुनै प्रभाव देखाउन सकेन । ७ चरणमा करिब डेढ महिनामा सम्पन्न भारतको लोकसभा चुनावको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । बहुमतका लागि २ सय ७२ सिट चाहिनेमा भाजपा एक्लैले आवश्यकभन्दा २७ सीटमा बढीमा जित हात पारिसकेको छ ।
भाजपा नेतृत्वको एनडीए (नेसनल डेमोक्रेटिक एलायन्स) जित र मतगणनामा लिएको अग्रताका आधारमा करिब ३४८ सीट जित्ने सम्भावना देखिएको छ । उता कांग्रेस नेतृत्वको यूपीए (युनाइटेड प्रोग्रेसिभ एलायन्स) ले करिब ९५ सिट जित्ने अनुमान छ । यसपटक पनि कांग्रेसले प्रतिपक्षी दलको मान्यता पाउन कुल सिटको १० प्रतिशत अर्थात् ५५ सिट पनि नजित्ने देखिएको छ । जिजुबाजे जवाहरलाल नेहरुका पालादेखि कांग्रेसले जित्दै आएको उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रमा कांग्रेस अध्यक्ष राहुल गान्धी पराजित भएका छन् । पराजय स्विकार्दै उनले भाजपाकी स्मृति इरानीलाई बधाई दिएका छन्। इरानी मोदी सरकारकी मानव शंसाधन मन्त्री हुन् ।
यसैगरी बिहारको बेगुसरायबाट भारतीय कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका जवाहरलाल नेहरु विश्वविद्यालयका चर्चित छात्र नेता कन्हैयाकुमार पनि भाजपाका गिरिराज किशोरसँग पराजित भएका छन् ।