जेष्ठ १४, २०७६
पूर्वमा पेट्रोलियम पदार्थको अभाव सृजना भएको छ । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्यांकरलाई पश्चिम बंगालको पानीट्यांकी भन्सारमा रोकेर राखे पछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको हो ।
अनलाइन माध्यमबाट भन्सारमा ‘इन्ट्री सिस्टम’ सुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्यांकरलाई नाकामा रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्यांकर पानीट्यांकी नाकामा थन्किएका छन् । यसै कारण मेची अञ्चलका सबै पेट्रोलपम्पहरु बन्द अवस्थामा रहेका छन् ।
चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्पहरु बन्द भएपछि पेट्रोलियम पदार्थको अभाव भएको हो । पौडेलले मेचीका यी चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको जानकारी दिए ।
पौडेलका अनुसार भारतले शुक्रबारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्यांक राख्न सुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्यांकरलाई रोकिराखेको छ ।
कम्प्युटर सिस्टमले काम नगरेको भन्दै ट्यांकर लामो समयसम्म अड्काएर राखेको हुँदा ‘म्यानुअल सिस्टम’बाट तथ्याङ्क राखेर भए पनि नेपाली ट्यांकर छाडिदिन भारतीय भन्सारलाई आग्रह गरिएको सूचना अधिकृत पौडेलले बताए ।