विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलका बरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोकाले वान हन्ड्रेड एट पोयम्स नामक कविता संग्रह पाठक माझ ल्याएका छन् ।
काठमाडौंको थापागाउँमा रहेको कुञ्ज थिएटरमा कवि रोकाकी आमा नेत्रकुमारी रोकाले उक्त कविता संग्रह विमोचन गरिन । सो कविता संग्रहलाई बिमोचन गर्दै आमा नेत्रकुमारीले आफूलाई छोराका कविता साह्रै मन पर्ने गरेको बताइन । कवि यमबहादुरको यो अंग्रेजी कविताहरूको सँगालो हो । संग्रहमा १०८ वटा कविता रहेको कुञ्ज थिएटरका अध्यक्ष कमल ढकालले बताए। अध्यक्ष ढकालले भने डा.साब जति राम्रो सर्जन छन, उनका कविता पनि त्यत्तिकै प्रभावशाली छन् ।
न्यूरो सम्बन्धी जटिल रोगहरुको सफल सर्जनको रुपमा परिचित डाक्टर रोकाले १०८ ओटा कविता कसरी र कति खेर लेखे भन्ने ? पत्रकारको जिज्ञाशामा कवि रोकाले आफूले अहोरात सेवग्राहीलाई सेवा प्रदान गरि सकेपछि , खाना खाएर बचेको समयमा कविता सिर्जना गर्दै आएको अनुभव सुनाए । उनले कविता संग्रहको बिक्रीबाट उठेको रकम बाग्लुङको स्कुलका विद्यार्थीहरूको पठनपाठनमा सहयोग गर्ने बताए । उनले छिटै आफ्नो दोस्रो कवितासंग्रह पनि पाठक माझ ल्याउने प्रतिबद्धता जनाए ।
पिस बुक प्रालिले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय ९९ रुपैयाँ रहेको छ ।