काठमाडाैँ । नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड भएको १८ वर्ष पुगेको छ ।
तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको २०५८ साल जेठ १९ गते शुक्रबारको त्यो घटना अझै रहस्यमय नै छ । राजा वीरेन्द्रसहित रानी ऐश्वर्य राज्यलक्ष्मी, छोरा युवराज दीपेन्द्र, छोरा राजकुमार निराजन र छोरी राजकुमारी श्रुति मारिएका थिए ।
तत्कालीन जनप्रिय राजा वीरेन्द्रको निधन भएपछि अस्पतालमा अचेतावस्थामै रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । जेठ २२ मा उनको पनि मृत्यु भएको घोषणा गरिएसँगै वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए ।
हत्याकाण्डको सात वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको समाप्ति भई गणतन्त्रको उदय भयो । उच्च सैन्य घेराभित्र रहेको नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको रहस्य अहिलेसम्म खुल्न सकेको छैन ।