१९ जेठ, विराटनगर
विराटनगरमा सम्पन्न १० औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली मोरङले जितेको छ । आइतबार भएको खेलमा काठमाडौं बहिरा क्रिकेट संघलाई हराउँदै मोरङ बहिरा क्रिकेट संघले उपाधि जितेको हो ।
विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रिय बहिरा क्रिकेट संघको आयोजना तथा मोरङ बहिरा क्रिकेट संघको संयोजनमा भएको खेलमा मोरङ प्रथम, काठमाडौं द्वितीय र झापा तृतीय भएका छन । वर्षाका कारण तेस्रो स्थानको विजेता टस गरेर छिनोफानो गरिएको थियो भने उपाधिका लागि ओभर घटाएर ९ ओभरको खेल खेलाइएको थियो । प्रतियोगिताअन्तर्गत मोरङ बहिरा क्रिकेट संघले काठमाडौं बहिरा क्रिकेट संघलाई ५ रनले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितसँगै मोरङले नगद एक लाख रुपैया र उपविजेता काठमाडौंले नगद ७५ हजार रुपैयाँका साथ ट्रफी प्राप्त ग¥यो । टस जितेर पहिले ब्याटिङ थालेको मोरङले ९ ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा ६८ रन बनायो । ६९ रनको लक्ष्यका साथ मैदानमा उत्रेको काठमाडौंले ९ ओभर पूरै खेल्दै ६ विकेटको क्षतिमा ६३ रनमै समेटियो । प्रतियोगिताको म्यान अफ द सिरिजको उपाधि मोरङका मोहमद साबिर र रुपन्देहीका होमबहादुर केसीले समान रुपमा प्राप्त गरे ।
त्यसैगरी बेष्ट बलर झापाका जसोदर साह र बेष्ट ब्याट्समेन काठमाडौका अजय कर्ण घोषित भए । तेस्रो स्थानका लागि रुपन्देही र झापाबीचको टसमा झापाले टस जितेर तेस्रो स्थान हुँदै नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली , पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख देवाराज कटवाल, राष्ट्रिय बहिरा क्रिकेट संघका सरयुप्रसाद शेरचनलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा झापा, मोरङ, सुनसरी, कास्की, रुपन्देही, दाङ, बाँके र काठमाडौंको सहभागिता रहेको थियो ।