कोइराला निवासको सुरक्षार्थ नगर रक्षक खटिए

कोइराला निवासको सुरक्षार्थ नगर रक्षक खटिए

२१ जेठ, विराटनगर
प्रजातान्त्रिक आन्दोलनको केन्द्र मानिएको विराटनगरको ‘कोइराला निवास’ को सुरक्षार्थ खटिएका सुरक्षाकर्मी हटेपछि निवासको सुरक्षार्थ विराटनगर महानगरपालिकाले आफनै नगर प्रहरी खटाएको छ ।

महानगरले तत्काल तीन जना नगर रक्षक खटाएको जनाएको छ । सरकारले कोइराला निवासबाट सुरक्षाकर्मी हटाए संगै विराटनगर महानगरले आफ्ना नगररक्षक खटाएको छ, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने आज मंगलबारदेखि लागू हुनेगरी नगर रक्षक खटाउने निर्णय भएको छ । अर्काे सुचना नभएसम्मका लागि ३ जना नगर रक्षक खटाइएको उनले बताए । यसअघि सरकारले विशिष्ट व्यक्तिको निवासमा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेपछि कोइराला निवासका सुरक्षाकर्मी फिर्ता बोलाइएको थियो । एकै परिवारका तीनजना भाइहरु विश्वेश्वर प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र मातृकाप्रसाद कोइराला पूर्वप्रधानमन्त्री भएको निवास, प्रजातन्त्रको उदगम स्थल रहेको निवासबाट सुरक्षाकर्मी हटाइएको भन्दै कांग्रेसले विरोध गरेको थियो ।

विराटनगरको कोइराला निवासमा खटिएका सुरक्षाकर्मी हटाइएको विषयमा नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको थियो । प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले सोमबार एक विज्ञप्ति प्रकासित गरी कोइराला निवास व्यक्तिको मात्र नभएर प्रजातान्त्रिक आन्दोलनमा विश्वास राख्ने सबैको साझा भएको स्पष्ट गरेका छन् । उनले निवासमा पुनः सुरक्षाकर्मीको युनिट राखिनुपर्ने कांग्रेसको धारणा भएको पनि बताएका छन । कार्कीले प्रजातन्त्रिक आन्दोलनको सुरुवात गर्ने निवासबाट हठात निर्णय गरेर सरकारले सुरक्षाकर्मी फिर्ता गर्नु उचित नभएको जनाएका छन । कोइराला निवासमा २०५४ सालमा माओवादीले परिसरको पछाडिको भागबाट बम प्रहार गरेपछि त्यहाँ सुरक्षा सशस्त्र प्रहरीको युनिट स्थापना गरिएको थियो । तर, गृहमन्त्रालयले पत्राचार गरी पूर्वविशिष्टका निवासबाट सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिएसँगै बिहीबारदेखि नै सुरक्षाकर्मी हटेका थिए । पिताजी कृष्णप्रसाद कोइरालाको नासोको रुपमा रहेको विराटनगरको कोइराला निवास भने सन्तानहरुमा अंशबन्डा भएपछि भने केही खुम्चिएको छ ।

दक्षिणपट्टीको आफ्नो भागमा परेको ८ कठ्ठा जमिन बीपी पुत्रहरु प्रकाश, डा. शशांक, श्रीहर्ष र छोरी चेतनाले बिक्री गरेपछि त्यहाँ नयाँ व्यापारिक भवन निर्माण भएका छन् ।उत्तरपट्टीको जग्गा तारिणीप्रसाद कोइरालाको भागमा परेको थियो । जसमध्ये केही जग्गा छोरा ज्योतिले बिक्री गरिसकेका छन् । पूर्वपट्टिको जमिन गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाताको भागमा परेको छ । यसको चार कठ्ठा जग्गा जीपी फाउन्डेसनलाई दिएर त्यहीं भवन निर्माण गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.