जेष्ठ २२, एजेन्सी । शीर्ष खेलाडीहरु रोजर फेडेरर र रफाइल नदाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा भिड्ने भएका छन् ।
क्वाटरफाइनल खेलहरुमा जित निकाल्दै दावेदारहरु फेडेरर र नाडालले सेमिफाइनल भिडन्त तय गरेका हु्न् । पेरिसको रोलाँ ग्यारोमा गएराति भएको क्वाटरफाइनलमा फेडेररले स्टानिस्लास वावरिङ्कालाई ३–१ को सेटमा हराए । आफ्नै देशका वावरिङ्का विरुद्धको खेल स्विस टेनिस स्टार फेडेररले ७–६, ४–६, ७–६ र ६–४ को सेटमा जिते ।
उता दोस्रो वरियताका नाडालले क्वाटरफाइनलमा जापानका केई निशिकोरीलाई ६–१, ६–१ र ६–३ को सोझो सेटमा पराजित गरे । जितसँगै नदालले फेडेरर विरुद्धको हाइ प्रोफाईल भिडन्त तय गरेका हुन् । यी दुई खेलाडीबीचको हेड टु हेड रेकर्डमा नाडाल अगाडि छन् । कुल ३८ भिडन्तमा नाडाल २३ पटक विजयी हुँदा फेडेररले १५ जित हात पारेका छन् ।
यसैविच, फ्रेन्च ओपन टेनिसको महिलातर्फ बेलायतकी योहाना कोन्टाले सेमिफाइनल यात्रा तय गरिन् । कोन्टाले अमेरिकी खेलाडी स्लोआनी स्टेफेन्सलाई ६–१ र ६–४ को सोझो सेटमा पाखा लगाईन् । जितसँगै कोन्टा सन् १९८३ पछि फ्रेन्च ओपनको सेमिफाइनल पुग्ने पहिलो बेलायती महिला खेलाडी बनेकी छन् ।