जेष्ठ २२, एजेन्सी । इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुदैछन् । आज पहिलो खेलमा भारत र दक्षिण अफ्रिका भिड्दा दोस्रो खेलमा बंगलादेशले न्यूजिल्याण्डसँग खेल्नेछ ।
गएराति भएको खेलमा अफगानिस्तानलाई डीएल पद्दतिमा ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकाल्न सफल भएको हो । वेल्सको कार्डिफमा वर्षाले प्रभावित खेलमा श्रीलंकाले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५२ रन मात्र बनाउन सक्यो । उसका लागि नाजिब उल्लाह जाद्रनले ४३ रन बनाए पनि टोली हारबाट जोगीन सकेन । अफगानिस्तानलाई सस्तैमा रोक्न श्रीलंकाका नुवान प्रदीपले ४ तथा लसिथ मालिंगाले ३ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ ओभर ५ बलमा अलआउट हुँदै २ सय १ रन बनाएको थियो । वर्षाको कारण ४१ ओभरमा झारिएको खेलमा अफ्गानिस्तानलाई डि.एल पद्दतिको आधारमा १ सय ७८ रनको नयाँ लक्ष्य दिइएको हो । जितसँगै श्रीलंकाले २ खेलबाट २ अंक जोडेको छ । यसअघि पहिलो खेलमा श्रीलंका न्यूजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो ।