पशुपतिनाथ मन्दिरमा नौं किलो सुन, १ अरव २९ करोड नगद जम्मा

पशुपतिनाथ मन्दिरमा नौं किलो सुन, १ अरव २९ करोड नगद जम्मा

२२ जेष्ठ, २०७६

पशुपतिनाथ मन्दिरमा नौं किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको विवरण प्राप्त भएको छ ।

पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानवीन समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा सो परिमाणको सुन जम्मा भएको उल्लेख गरिएको हो । त्यसैगरी ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी पनि पशुपतिनाथ मन्दिरमा रहेको पाइएको छानवीन समितिका संयोजक डा. मिलनकुमार थापाले जानकारी दिएका छन् । समितिका अनुसार सो विवरण विक्रम संवत २०१९ सालदेखि २०७५ सालसम्मको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष समेत रहनु भएका थापाले विक्रम संवत २०१९ सालभन्दा अघिको विवरण भने प्राप्त हुन नसकेको पनि स्पष्ट पारे ।

पशुपतिनाथ मन्दिरमा हालसम्म १ अरव २९ करोड ३८ लाख ३१ हजार नगद जम्मा गरिएको छ । छानविन समितिका अनुसार त्यसमध्ये एक अरवको अक्षय कोष स्थापना गरी सामाजिक सेवाको क्षेत्र तथा विपद् व्यवस्थापनमा खर्च गर्ने गरिएको छ । समितिका संयोजक थापाले हाल मन्दिरको दर्ता प्रमाणित भएका जग्गा ३ हजार ६ सय ६७ रोपनी ४ आना ३ पैसा रहेको पनि जानकारी दिए ।

प्रतिवेदनमा पशुपतिनाथ मन्दिरको दर्ता प्रमाणित हुन बाँकि रहेका जग्गा २ सय ३१ रोपनी १० आना १ दाम रहेको पनि सो छानवीन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.