२४ जेष्ठ, सिरहा ।
सिरहा जिल्लाको अधिकांश सरकारी कार्यालयमा सरकारी सेवा लिन सेवाग्राहीले घुस नदिइए कामै नबन्ने अबस्था देखिएको छ ।
सिरहामा ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनु परेको तथ्यांक राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको छ । यस्तै जिल्ला समन्वय समितिका एक इन्जिनियर,कल्याणपुर नगरपालिका लगायतका कार्यालयका आधा दर्जन कर्मचारी समेत घुससहित रंगेहात पक्राउ परेपछि सिरहामा घुस विना कामनै नबन्ने देखिएको हो । सिरहाको १७ स्थानीय तह मध्ये १० वढी पालिका माथि अख्तियारमा उजुरी परेको छ । सिरहामा ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनु परेको तथ्यांक राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको छ ।
सिरहाका सरकारी कार्यालयमा सर्वाधिक घुस लेनदेन भईरहेको अवस्था देखिएको सर्तकता केन्द्रले गरेको अध्ययनले देखाएको छ । उनीहरुले सामान्य भन्दा सामान्य काम गर्नु पर्दा पनि घुस तिर्नुपर्ने बाध्यता रहेको देखिएको छ । घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा आधा दर्जन कर्मचारीलाई पक्राउ समेत गरीसकेको छ । अख्तियारले लहानको नापी शाखा, घरेलु तथा साना उद्योग कार्यालय, मालपोत कार्यालयबाट कर्मचारी नियन्त्रणमा लिएको हो । सरकारी अड्डामा मौलाएको घूसखोरीले सेवाग्राहीमा असन्तुष्टि पनि चर्को रहेको सतर्कता केन्द्रले गरेको अध्ययनले निष्कर्ष निकालेको छ ।