२७ जेठ, विराटनगर
धरानमा डेंगुको महामारी फैलिएर नियन्त्रण बाहिर गएपछि प्रदेश १ सरकारले डेंगु महामारी नियन्त्रणका लागि प्रभावित क्षेत्रका लागि दुइ थान भेन्टिलेटर सहित ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश १ को सोमबारको सदनमा मुख्य मन्त्री शेरधन राईले सक्रमितको निशुल्क उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत खर्च गर्ने गरी ५० लाख र महामारी न्यूनीकरण अभियान सञ्चालन गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए । प्रदेश आपत्कालीन उद्धार कोष अन्तर्गत प्रदेश सरकारले बजेट तत्काल निकासा हुने गरी विनियोजन गरेको मुख्यमन्त्री राईले बताए । धरानमा डेङ्गु सक्रमितको सख्या ३ सय ६८ पुगेको छ । बीपी प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा विकास साहका अनुसार १ हजार २ सय ३० जनाको रगत जाँच गरिएको मध्ये ३ सय ६८ जनामा डेङ्गुको भाइरस फेला परेको हो । प्रतिष्ठानमा सोमबार पनि ५४ जना डेंगुका नयाँ संक्रमित थपिएका छन् ।
यस्तै मुख्यमन्त्री राईले सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन । उनले छुटेका विषय नीति तथा कार्यक्रममा समेट्ने आश्वासन दिँदै तराई पहाडबीच नीतिगत विभेद भयो कि भन्ने सांसदको जिज्ञासा आगामी बजेटले मेट्ने बताए । यस्तै सांसद विकास कोष स्थापना गरेर ९३ जनै सांसदहरुले आवश्यक बजेट विनियोजन गर्ने पनि उनले बताए । यस्तै प्रदेशसभाको शून्य समय लिएर बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले पत्रकारलाई मार्नेसम्मका धम्की दिएर विज्ञप्ति निकाल्दैमा छुट हुन नहुने बताए ।
उनले नेकपाको कार्यकर्ता हुँदैमा र नेताहरुको नाम लिँदैमा सजायबाट उम्कन नहुने बताए । यसैबीच प्रदेशसभामा प्रदेश सरकारको तर्फबाट प्रस्तुत नीति तथा कार्यक्रम माथिको छलफल सकिएको छ । कार्यक्रम मंगलबार पारित हुने कार्यक्रम छ ।