२८ जेष्ठ २०७६ काठमाडौं : स्थानीय तहमा कर्मचारी नियुक्त गर्ने विज्ञापन तत्काल रद्द गर्न लोक सेवा आयोगलाई संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनको विरोध गर्दै मंगलबारबाट काठमाडौंमा आन्दोलन सुरु भएको छ ।
लोक सेवा तयारी तदर्थ संघर्ष समिति, नेपालले राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले सरकार र लोक सेवा आयोगलाई दिएको सो निर्देशन मान्य नहुने चेतावनी दिँदै काठमाडौंको माईतीघर मण्डलामा मंगलबार बिहानबाट आन्दोलन सुरु गरेको हो । संघर्ष समितिमा आवद्ध विद्यार्थीहरुले संसदीय समितिले संविधान, कानुन र जनताको हित विरुद्ध सो निर्देशन दिएकाले त्यसका विरुद्ध सडक संघर्ष सूरु गर्नु परेको बताएका छन । उनीहरुले राज्य व्यवस्था समितिले सो निर्देशन फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी पनि दिएका छन ।