३१ जेठ, विराटनगर। मोरङमा पनि डेंगुको संक्रमण देखिएपछि सचेतनाका कार्यक्रमहरु गर्न थालिएको छ । विराटनगरमा रहेको लाइफ गार्ड अस्पताल र गुराँस पुस्तकालयको समन्वयमा डेंगु रोग बारे सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरिएको छ ।
दुई संस्थाले गोग्राह स्कूलका विद्यार्थीहरुलाई डेंगुका बारेमा जानकारी गराएको छ । लाइफ गार्ड अस्पतालका फिजिसियन अरविन्द देवले डेंगु रोग, यसको संक्रमण र यसबाट कसरी बच्न सकिन्छ भनेर विद्यार्थीहरुलाई सचेत गराएका थिए । उनले डेंगु रोग मानिसबाट मानिसमा नसरी संक्रमित व्यक्तिलाई लाखुट्टेले टोकेर अर्को व्यक्तिलाई टोकेमा मात्र यो रोग सर्ने जानकारी दिए । यो लामखुट्टेले दिउसो मात्र टोक्ने र सफा र स्थिर पानीमा अण्डा पार्ने जानकारी दिए ।
लामखुट्टेले १४ देखि २१ दिनको जीवनचक्रमा ३ सय अण्डा पार्ने जानकारी उनले दिए । डेंगु रोगको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु, ५, ७ दिनसम्म ज्वरो आउनु, टाउको असाध्यै दुख्नु, ढाड, जोर्नी र मांसपेशी दुख्ने उनले जानकारी दिए । डेंगु रोगबाट बच्न गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ ।