३२ जेठ, विराटनगर। सन्थाल समुदायमा समाज ब्यवस्थापकको रुपमा रहेका मन्झी परानिकहरुलाई सबलिकरण गर्न थालिएको छ । सो समुदायको बहुसंख्यक बसोबास रहेको मोरंङको जहदा गांउपालिका–७ मा समाज ब्यवस्थापकको रुपमा रहेका मन्झीहरुलाई सबलिकरणगर्न शसक्तिकरण तालिम आयोजना गरिएको छ ।
वडानम्बर ५ स्थित दुर्गा माध्यमिक विद्यालय परिसरमा आयोजना गरिएको तालिममा वडानम्बर ७ का ३ दर्जन बढी महिला तथा पुरुष मन्झीहरुको सहभागिता थियो । उनिहरुलाई अधिवक्ता राजकुमार राजवंशीसहित भारतको झारखण्डबाट आमन्त्रण गरिएका सन्थाल भाषा तथा संस्कृतिबिद ज्ञानरंजन मुर्मु,दुर्गाचरण मुर्मु,मित्रई मुर्मु र जदुनाथ मरण्डीले प्रशिक्षण दिएका थिए । कार्यक्रमका सहभागिलाई बालबिवाह,बहुबिवाह,बोक्सी प्रथा,दाइजो प्रथाका साथै स्थानिय तहमा छिनोफानो गर्न मिल्ने र नमिल्ने मुद्धाहरुको कानुनी ब्यवस्थाका बिषयमा जानकारी गराइएको थियो ।
यस्तै सन्थाली लिपी र भाषा संरक्षणका बिषयमा समेत उनिहरुलाई जागरुक बनाइएको थियो । मंझीका सदस्यहरुलाई समयसापेक्ष कानुनी र भाषिक ज्ञान दिन प्रशिक्षण आयोजना गरिएको जहदा गांउपालिका ७ का वडाध्यक्ष भगवानलाल बेस्राले बताए । सन्थाल समाजलाई ब्यवस्थितगर्न गांउका प्रत्येक टोलहरुमा परम्परागतरुपमा ७ सदस्यीय मन्झी परानिक गठनगर्ने चलन रहेको छ । २०६८ को जनगणना अनुसार जहदा गांउपालिकामा सन्थाल समुदायको ४१ हजार बढी जनसंख्या रहेको छ ।