१ असार, विराटनगर। ।प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि आइतबार करिव ४५ अर्बको बजेट सार्वजनिक गर्दैछ ।
सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आइतबार दिउँसो ३ बजे बस्ने भनिएको प्रदेशसभा बैठकमा आगामी वर्ष सञ्चालन गर्ने परियोजना र कार्यक्रमसहित बजेट सार्वजनिक गर्ने योजना छ । अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले ३५ अर्व २ करोडको बजेट ल्याएको थियो । सरकारले आगामी वर्ष कृषि आधुनिकीकरण, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको करिव ४० प्रतिशत भन्दा बढी रकम पूर्वाधार विकासमा मात्र खर्च गर्ने तयारी गरेको छ । यसैबीच प्रदेश सरकारले प्रदेशसभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पनि छुट्टै विकास योजना दिने भएको छ ।
आगामी वर्ष प्रदेश सभाका ९३ जना सदस्यलाई ५० लाखसम्म खर्च गर्न सक्ने गरी योजना दिने र प्रत्यक्ष तर्फबाट निर्वाचितहरुलाई ३ करोडको प्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रम पनि दिने तयारी गरेको छ । यसबाट प्रदेश सरकारको दायित्व बढ्ने देखिएको छ । अघिल्लो वर्ष ५६ जना प्रदेश सभा सदस्यले २ करोडका दरले यस्तो रकम प्राप्त गरेका थिए । अब आगामी वर्ष प्रत्यक्ष तर्फबाट निर्वाचितले ३ करोड ५० लाख रुपैयाँको योजना प्राप्त गर्ने छन् भने समानुपातिक तर्फका सदस्यले ५० लाखको योजना प्राप्त गर्ने छन् ।