इंग्ल्यान्डको म्यान्चेस्टरमा नेपाली समयअनुसार आइतबार दिउँसो ३ बजेर १५ मिनेटमा दुई कट्टर प्रतिद्वन्द्वी पाकिस्तान र भारतबीचको खेल हुँदैछ । दुवै टिम आफ्नो देशको प्रतिष्ठाको लडाईँको रुपमा लिँदै जित हात पार्ने दाउमा छन् ।
विश्वकप क्रिकेटकै सबैभन्दा रोचक र उत्कृष्ट खेल आज पाकिस्तान र भारतबीच हुनेछ । जारी विश्वकपमा दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको पाकिस्तान आजको खेल जसरी पनि जित्न चाहन्छ । यता, भारत भने तेस्रो जितको खोजिमा हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको भारतले दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको थियो । पाकिस्तानको ब्याटिङ, बलिङ राम्रै भए पनि फिल्डिङ निकै फितलो रहेको छ । अष्ट्रेलियाविरुद्धको हारमा पनि फिल्डिङ मुख्य कारण बन्यो । आजको खेलमा भारतमाथि जित हात पार्नका लागि पाकिस्तानको ब्याटिङ बलिङको साथै फिल्डिङ पनि राम्रो हुनुपर्छ । यता, भारत भने निकै बलियो स्थितिमा देखिन्छ । भारतको तीनै पक्ष बलियो देखिएको छ । ब्याटिङ र बलिङ उत्कृष्ट छ । भारतीय ब्याट्सम्यान उच्च लयमा देखिन्छन् । बलिङतर्फ पनि जसप्रित बुमराह, भुवनेश्वर कुमार, युजभिन्द्र चाहाल, हार्दिक पाण्ड्या उच्च लयमा छन् । यता, पाकिस्तानको पनि मोहम्मद अमिर, वाहब रियाज, हसन अलीजस्ता बलर लयमा देखिन्छन् भने ब्याट्सम्यान चले भारतलाई खतरा हुन सक्छ ।
अहिलेसम्म भारत र पाकिस्तानबीचको खेलको नतिजा सधै भारतीय टोलीले जितेको छ । दुई टोलीले ६ खेल खेल्दा ६ वटै खेल भारतले जितेको छ । यस अघि शनिबार भएको खेलमा अष्ट्रेलियाले चौंथो जित निकालेको छ । लण्डनमा भएको खेलमा श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलियाले चौंथो जित निकालेको हो । यो जितसंगै अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अष्ट्रेलियाले ५ खेलबाट ४ जित र १ हारसहित ८ अंक जोडेको छ ।
त्यस्तै हिजै भएको अर्को खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको छ ।