३ असार, विराटनगर । विराटनगर १० स्थित एक घरको कोठामा दुइवटा गाई मृत अवस्थामा फेला परेको छ । विराटनगरस्थित न्युरो अस्पताल भन्दा पुर्वदक्षिणतर्फ सिद्धार्थ मार्गमा अवस्थित सुमित्रा कार्कीको घर पछाडीको कोठामा थुनिएको अवस्थामा ती गाई मृत फेला परेका हुन् ।
केहिदिन अघि नै गाइ मरेका कारण दुर्गन्ध फैलिएपछि कोठाको ढोका फुटाउदा भित्र रहेका तीन गाईमध्ये २ वटा मरेको र एउटालाई जिवितै उद्धार गरिएको स्थानियले बताएका छन् । मृत गाईहरु स्थानिय शान्तिचोकका रामअशिष रायको रहेको बताइएको छ । ९ दिन अघि चर्न गएको क्रममा ती गाईहरु हराएको रामअशिषका छोरा सुनिलकुमार रायले जानकारी दिए । गाई हराएपछि आफुहरुले स्थानिय प्रहरी चौकीमा उजुरी दिएपनि नभेटिएपछि गाई खोज्दै सुनसरी,मोरंगका विभिन्न गांउहरुमा भौंतारिएको उनले बताए । गाई मरेको भेटिएको घरका धनि सुमित्रा कार्कीको परिवार अस्ट्रेलिया बस्दै आएकाछन् । कार्की परिवार विदेशमा रहेका कारण भिमप्रसाद सिंह र गायत्री मण्डलले घरको रेखदेख गर्न भन्दै सो घरमा बस्दै आएको स्थानीयले जानकारी दिएका छन् । सिंह हाल काठमाण्डौमा रहेका र उनकी श्रीमति गायत्री र दुइवटा नानीहरु गाइ मरेको कोठाको सामुन्ने रहेको घरमा बस्दै आएका छन । नौ दिनसम्म गाई थुनिएर कोठामै मरेपनि नजिकैको घरमा बस्ने ब्यक्तिहरुलाई गाई कराएको समेत थाहा नपाएको बिषयलाई रहस्यकोरुपमा हेरिएको छ ।
घटनास्थलमा पुगेको प्रहरीले मृत गाईहरुको मुचुल्का तयार पारी पोष्टमार्टमकालागि पठाएको छ । जिल्ला प्रहरी कार्यालय मोरंङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले चर्दै गएका गाईहरु आफै सो कोठामा प्रवेश गरेको र हावा लगायतका कारणबस कोठाको ढोका भित्रबाट थुनिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको बताए ।
गाई मरेर ढोका छेउमै लडेपछि कोठा भित्रैबाट थप ब्लक भएको देखिएको उनको भनाई छ । सो बिषयमा प्रहरीले उक्त घरमा बस्दै आएकी सुमित्रा मण्डल तथा छिमेकी अमित भट्टराई सहित थप एकजनासंग सोधपुछ गरेको छ ।