३ असार, विराटनगर । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकसहित प्रेस स्वतन्त्रता विरोधी कानुन खारेज गर्न माग गर्दै विराटनगरमा हस्ताक्षर संकलन गरिएको छ ।
नेपाल पत्रकार महासंघ मोरंङले विराटनगर स्थित बी प्लटमा एक कार्यक्रमको आयोजना गरि विधेयकविरुद्ध हस्ताक्षर संकलन गरेको हो । सरकारले बैशाख २६ गते संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेको विश्लेषणगर्दै आन्दोलित भएको पत्रकार महासंघले त्यसयता दुई चरणको आन्दोलनको कार्यक्रम गरिसकेको छ ।
महासंघको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्र्तगत मिडिया काउन्सिल विधेयक फिर्ता लिन तथा प्रेस स्वतन्त्रता विरोधी कानुनहरु खारेज गर्न हस्ताक्षर संकलन गरिएको नेपाल पत्रकार महासंघ मोरंङ शाखाका अध्यक्ष बन्धु पोखरेलले बताए ।
संकलित हस्ताक्षर असार ६ गते जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्री कार्यालयमा पठाइने छ । कार्यक्रममा पत्रकार,नागरिक समाजका अगुवा,विद्यार्थी लगायतले हस्ताक्षर गरेका छन् ।