६ असार, सप्तरी ।
स्थानीय स्तरका विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना हुदै आएको राजविराज स्थित राज रंगशाला आवश्यक मर्मत एवम् संरक्षणको अभावमा अहिले गौचरणमा परिणत भएको छ । सरोकारवाला निकायको वेवास्ताका कारण रंगशाला औद्योगिक मेला र राजनितिक दलका सभा गर्ने स्थलको रुपमा समेत प्रयोग हुदै आएको छ ।
खेलकुद गतिविधिका लागि बनाइएका रंगशाला जिर्ण तथा अतिक्रमणको चपेटामा परिसक्दा पनि रेखदेख र मर्मत सम्भारतर्फ सम्बन्धित निकायले कुनै चासो नदेखाएपछि खेलकुद गतिविधि प्राय ठप्प भएको छ । रंगशालाको ७ हजार दर्शक अटाउँने क्षमता भएको प्यारापिट जिर्ण हुदाँ समेत मर्मत सम्भार हुन नसकिरहेको अवस्थामा प्याराफिट मुनी वषौदेखी विभिन्न व्यक्तिले बसोबास गरि रहेका छन् ।
प्यारापिट नै अतिक्रमण गरि विगत २० वर्षदेखि २ दर्जन परिवार बसेपनि कसैले पनि खाली गराउने पहल गरेको छैन । रंगशालाको स्वामित्व राजविराज नगरपालिकाले २१ वर्ष अघि नै जिल्ला खेलकुद विकास समितिलाई दिएको थियो । तर अतिक्रमित स्थान खाली गराउन समितिले पनि खासै पहल गरेको देखिएको छैन ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेलले पटक पटक अतिक्रमित स्थान खाली गर्न प्याराफिट मुनी बस्दै आएकाहरुलाई सचना पठाएपनि नटेरेको लाचारीपना सुनाए । उनले अतिक्रमण हटाउँन अन्य निकायबाट पनि सहयोग नपाएको गुनासो पोखे । प्याराफिट जिर्ण र अतिक्रमण हुनुले विगत १५ वर्षदेखि रंगशालाको खेल मैदानमा कुनै पनि प्रतियोगिता र अभ्यास सम्म हुन सकेको छैन ।