७ अषाढ, विराटनगर ।
विराटनगर १८ मा सडक निर्माणका क्रममा सडकमा माटो पुर्न सडक छेउकै स्थानीयको घर आंगन अघिल्लतिर खाडल खनी माटो निकालिएको फेला परेको छ । सडक निमार्ण गर्न गठित उपभोक्ता समितिले विराटनगर १८ मा मनपरी ढंगले काम गरेको स्थानीयले आरोप लगाएका छन् ।
निर्माण सम्झौता विपरीत सडकमा माटो पुर्न समितिले स्थानीयको घरआंगन अघिल्लतिर ठूला ठूला खाडल खनिदिएपछि बर्षाको समयमा स्थानीयवासी थप त्रासमा रहेका छन् । विराटनगरको दक्षिण–पूर्वी, वडानम्बर १८ कालाबञ्जरमा ग्राभेल सडक निर्माणको काम अन्तिम चरणमा छ ।
सडक निर्माण कार्य अन्तिम चरणमा पुगेपनि बषौंदेखि हिल्लाम्मे बाटोमा हिड्न बाध्य त्यहांका सर्वसाधारण खुशी हुनुपर्नेमा दुखी देखिएका छन् । सडक निर्माणको जिम्मा लिएको उपभोक्ता समितिले स्थानीयका घरआंगन अघिल्लतिर गहिरो र फराकिलो खाडल खनिदिएपछि सर्वसाधारण रुष्ट भएका हुन । सडकमा माटो पुर्न भन्दै खनिएको खाडल निकै गहिरो रहेको र त्यसमा पानी भरिएकाले बालबालिका डुब्ने चिन्ताका कारण सर्वसाधारण चिन्तित छन् ।
उपभोक्ता समितिले सडकमा माटो पुर्न भन्दै स्काभेटर प्रयोग गरेर आफ्नो आंगनमैं गहिरो खाडल पर्नेगरि खनिदिएको स्थानीयले बताएका छन् । स्थानीयले मापदण्ड विपरीत खाडल नखन्न अनुरोध गरेपनि उपभोक्ता समितिका पदाधिकारीले नमानेको बताएका छन् ।
याता १८ का वडाध्यक्ष संजय साहले भने सडकको स्टिमेट अनुसार नै निर्माण कार्य भइरहेको दाबी गर्दे सडकमा माटो पुर्न जथाभावी माटो नखनिएको दावी गरेका छन् । विराटनगर महानगरपालिकाको ३० लाख लगानीमा उपभोक्ता समिति मार्फत सो ठांउमा ६ मिटर चौडाई र ३ सय ९४ मिटर लम्बाईको ग्राभेल सडक निर्माण कार्य भइरहेको छ ।
निर्माण सम्झौतामा साढे २ फिट गहिरो र १ मिटर चौडाईको खाडल खन्न सकिने स्टिमेट रहेको महानगरपालिकाले जनाएको छ । महानगरले स्टिमेटभन्दा बढी खाल्डो खनेको भेटिए समितिलाई खाडल पुर्न लगाइने बताएका छन् ।