८ असार, काठमाण्डौ ।
सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले रेशम चौधरीलाई नेल लगाएर उपचार गराईएको, सरकारको काम कारवाही असफल बन्दै गएको र खेतीपातीको समयमा रासायनिक मल अभाव भएको भन्दै सहज मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद उमाकान्त चौधरीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको र हरेक क्षेत्रमा असफल बन्दै गईरहेको आरोप लगाए । भ्रष्टाचार र काण्डै काण्डमा फसेको सरकार सर्वत्र असफल बन्दै गएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुटप्रसादको उपनाम दिनुपर्ने तर्क गरे । सरकारका चिप्ला र फोस्रा भाषण मात्रैले विकास निर्माणमा सफल हुन नसकिने तर्क उनले गरे ।
सांसद चन्दा चौधरीले रेशम चौधरीलाई विरामीको उपचार गराउदै २४ केजीको सिक्री लगाएर उपचार गराउने काम भएको भन्दै त्यसबारे गृहमन्त्रीको ध्यानाकर्षण गराए । सिक्री लगाएर उपचार गराउने काममा संलग्नलाई प्रधानमन्त्रीले कारवाही गर्न दिएको निर्देशन कार्यान्वयन बारे भएको प्रगति बारे जानकारी गराउन पनि यहाँले गृहमन्त्रीसँग माग गरे । दश बर्षे जनविद्रोह, गौर हत्याकाण्डका योजनाकारहरु सरकारमा रहेको र टिकापुर घटना पनि राजनीतिक जनविद्रोह भएको भन्दै उनले सरकारले विभेदको नीति लिएको आरोप लगाए ।
सांसद प्रदीप यादवले चौधरी भएकै कारण सरकारले रेशम चौधरीलाई सरकारले जेल हालेको भन्दै मुलुकमा मानवअधिकार र सरकार नभएको आरोप लगाए । उनले चौधरीलाई तत्काल रिहा गर्न सरकारसंग माग गरे । उनले २० औ हजार हत्या गर्नेहरु अहिले मन्त्री बनेको भन्दै सरकारलाई विभेदकारी व्यवहार नगर्न सचेत गराए ।
सांसद झपटबहादुर रावलले प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्रीलाई ‘झुट प्रसाद र कर प्रसाद ओली’ भनेको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए । जनप्रतिनिधिले बोल्ने भाषा शैली शिष्ट, सभ्य र सुसंस्कृत हुनुपर्ने भन्दै उहाँले संसदीय मर्यादा कायम गराउने तर्फ पनि सभामुखको ध्यानाकर्षण गराए ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकारको प्रतिवद्धता अनुसार काम नभएको र सर्वत्र कर बढाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीलाई करप्रसाद र झुट प्रसादको उपनाम राखिदिनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले विषयवस्तुलाई गम्भीरता पुर्वक लिएको उल्लेख गर्दै त्यसबारे पछि निर्णय गर्ने बताएका थिए ।