८ असार, काठमाडौँ ।
अशोक शर्माको निर्देशन रहेको चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकिएको छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नयाँ नायक अंकित शर्माको मुख्य भूमिका रहेको सो चलचित्रको छायांकन २९ दिनमै सकिएको हो ।
क्यामेरा ‘अन’ भएको २९ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्देशक शर्माले जानकारी दिए । कलाकार र मौसमले राम्रो साथ दिएका कारण चलचित्रको समयमै छायांकन सकिएको उनको भनाई छ । झापा र काठमाडौंमा चलचित्रको छायांकन गरिएको छ ।
निर्देशक शर्मा छोटो समयमै फिल्मको छायांकन सक्ने निर्देशक हुन् । उनले आजसम्म कुनै फिल्मको छायांकन महिना दिनभन्दा धेरै गरेको रेकर्ड छैन ।उनले १२ वर्षपछि गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘जय भोले’ बाट निर्देशनमा कमब्याक गरेका थिए ।
झापा र काठमाडौंमा चलचित्रको छायांकन गरिएको छ । शीर्ष गीत ‘रातो टिका निधारमा’ खिच्दै फिल्मको छायांकन सुरु भएको थियो । उक्त गीत दशक अगाडि प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’ मा समावेश थियो । यसमा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले नृत्य गरेका थिए । रिमेक भर्सनमा भने ‘रातो टिका निधारमा’ का दुई लिड कलाकार साम्राज्ञी आरएल शाह र अंकित शर्माले ठुम्का लगाएका छन् । गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।
‘रातो टिका निधारमा’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माका अलवा नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा रहेका छन् । चलचित्र दशैंमा रिलिज हुँदैछ ।









