९ असार, काठमाडौँ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले ज्येष्ठ नागरिक सम्बन्धी संशोधन गर्न बनेको विधेयकलाई सशक्त बनाईने बताएकी छन् । संघीय संसद प्रतिनिधिसभा महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकमा मन्त्री थापाले ससदीय समितिले दिएका उपयुक्त सुझावहरु समावेश गरि विधेयकलाई सम्मृद्ध बनाउने बताएकी हुन् ।
ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्दे उनीहरुको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरि ज्येष्ठ नागरिकलाई सम्मानपुर्वक जीउने वातावरण श्रृजना गर्नु राज्यको दायित्व भएकाले विधेयकलाई समय सापेक्ष संसोधन गर्न मन्त्रालय तयार रहेको उनले बताइन् ।
विधेयकमाथि संशोधन दर्ता गराएका सांसदहरुले वृद्धवृद्धाले जीवनको उत्तराद्र्धको समय सम्मानित भएर विताउनका लागि सम्पत्ति आफुसुखी प्रयोग गर्न पाउने र छोराछोरीलाई अनिवार्य दायित्व वहन गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । संशोधनकर्ताहरु प्रमिला राई र मिना सुब्बाले वृद्धवृद्धालाई बैकले पनि ऋण उपलब्ध नगराउने भएकाले वृद्धवृद्धाको उमेरको हद नराख्न सुझाव दिए।
उमेरहदका कारण चल अचल सम्पत्ति चलाउन पनि समस्या पर्ने भन्दै उमेरको सिमा हटाउनुपर्नेमा उनीहरुले जोड दिए । समिति सदस्यहरु लक्ष्मी परियार र बिमला विश्वकर्माले वृद्धवृद्धाहरुले जीवनको उत्तरराद्र्धको समय अत्यन्तै अपमानित भएर विताउनु परिरहेको अवस्थामा वृद्धवृद्धालाई हेर्नका लागि विशेष व्यवस्था गर्नुपर्ने धारणा राखे ।
त्यसैगरी अर्का संशोधनकर्ता दिव्यमणि राजभण्डारीले वृद्धवृद्धाले आफ्नो सम्पत्ति उनीहरुकै चाहाना अनुसार प्रयोग गर्न पाउने व्यवस्था गरिनुपर्ने बताए । समितिले ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को संशोधन गर्न बनेको विधेयक २०७५ बारे संसोधनकर्ता र विभागिय मन्त्रीसंग छलफल गरेको हो ।