९ असार, विराटनगर ।
सुनसरी मोरङमा फैलिएको डेंगु रोगको नियन्त्रण अभियान जारी रहदा विराटनगर महानगरपालिका भित्रमा अहिलेसम्म ५ जनामा डेगुको संक्रमण भेटिएको छ ।
विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख लजिता योञ्जनका अनुसार अहिलेसम्म महानगरपालिका भित्रमा ५ जनामा मात्र डेंगुको संक्रमण भेटिएको जानकारी दिइन् । उनले यसका लागि विभिन्न सचेतनाका कार्यक्रम गर्नुका साथै खोज तथा नष्ट कार्यक्रम गरिरहेको बताइन् ।
यसैगरी मोरङ जिल्लामा अहिलेसम्ममा १५ जनामा डेंगु रोग देखिएको जानकारी दिइन् । उनीहरुको मोरङ तथा विराटनगरका विभिन्न अस्पतालमा उपचार भैरहेको पनि उनले जानकारी दिइन् ।
डेंगु रोग मानिसबाट मानिसमा नसरी संक्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा मात्र सर्ने गर्दछ । यो लामखुट्टेले दिउँसो मात्र टोक्ने र सफा र स्थिर पानीमा अण्डा पार्ने गर्दछ । यो लामखुट्टेले १४ देखि २१ दिनको जीवनचक्रमा ३ सय अण्डा पार्ने जानकारी योञ्जनले जानकारी दिइन् ।
डेंगु रोगको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु, ५, ७ दिनसम्म ज्वरो आउनु, टाउको असाध्यै दुख्नु, ढाड, जोर्नी र मांसपेशी दुख्ने गर्दछ । डेंगु रोगबाट बच्न गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ ।