सकीबले कीर्तिमानी प्रदर्शन गरेपछि अफगानस्तानमाथि बंगलादेशको सहज जित

सकीबले कीर्तिमानी प्रदर्शन गरेपछि अफगानस्तानमाथि बंगलादेशको सहज जित

एजेन्सी, असार १०
जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । बंगलादेशका अलराउन्डर सकीब अल हसनले घातक बलिङ गर्दै एक्लै पाँच विकेट लिएपछि अफगानस्तानमाथि बंगलादेशले सहज जित निकालेको हो ।

यो जितसँगै बंगलादेश ७ खेलमा समान ३ मा जित र हारका साथ ७ अंक बटुल्दै अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । अफगानिस्तानको भने लगातार सातौं हार हो । यो विश्वकपमा अफगानस्तानले एक खेल पनि जित्न सेकको छैन ।

बंगलादेशले दिएको २ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा अल आउट हुँदै २ सय रनमा समेटियो । अफगानिस्तानको लागि मध्यक्रमका समिउल्लाह शिनवारी ५१ बलमा ३ चौका र १ छक्का सहित ्४९ रनमा अविजित रहे । कप्तान गुलबदीन नाइबले ४७ रनको योगदान दिए । २९ ओभरको पहिलो बलमा सकीब अल हसनले लिटन दासबाट क्याच आउट गराउनु अघि नाइबले ७५ बलमा ३ चौका प्रहार गरे ।

ओपनर नाइब र रामत शाहले १०।५ ओभरमा ४९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । सकीबले रहमात शाहलाई तामिम इकवालबाट २४ रनमा क्याच आउट गराए । हशमतुल्लाह शाहिदी ११ रनमा स्टम्पिङ आउट भए । सकीबले पुर्व कप्तान अस्गर अफगानलाई ३३ ओभरको दोस्रो बलमा २० रनमा क्याच आउट गराए । त्यस अघि सकीबले २९ ओभरको तेस्रो बलमा मोहम्मद नाबीलाई शुन्यमा बोल्ड आउट गरेपछि बंगलादेश सहज जिततर्फ लम्केको थियो ।

त्यस्तै विकेटकीपर इकराम अलीखिल ११,नजिवउल्लाह जदरान २३,राशिद खान २,दलावत जदरान र मुजिव उर रहमान डक आउट भए ।
बंगलादेशलाई सहज जित दिलाउन सकीब अल हसनले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर ५ विकेट लिए । विश्वकपमा बंगलादेशबाट ५ विकेट लिने सकीब पहिलो क्रिकेटर हुन् । विश्वकपको एकै खेलमा ५ विकेट र अर्धशतक बनाउने सकीब दोस्रा खेलाडी बने । सकीब एक दिवसिय विश्वकप क्रिकेटमा ४ सय रन र १० विकेट लिने पहिलो अलराउण्डर समेत बनेका छन् । मुस्ताफिजुर रहमान २, मोहम्मद सैफुद्दीन र मोसाद्देक हसन नाममा समान १ विकेट रह्यो ।


त्यसअघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६२ रन बनाएको थियो । बंगलादेशका लागि विकेटकीपर मुश्फिकुर रहिमले उत्कृष्ट प्रर्दशन गरे । ४९ ओभरको तेस्रो बलमा मोहम्मद नाबीबाट क्याच आउट हुनुअघि रहिमले ८७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै महत्वपूर्ण ८३ रनको योगदान दिए ।

मध्यम सुरुवात गरेको बंगलादेशको पहिलो विकेटका रुपमा पाँचौ ओभरको दोस्रो बलमा मुजिव उर रहमानले लिटन दासलाई १६ रनमा क्याच आउट गराए । १७ ओभरको अन्तिम बलमा मोहम्मद नाबीले बोल्ड आउट गर्नुअघि अर्का ओपनर तामिम इकवालले ५३ बलमा ४ चौका प्रहार गर्दै ३६ रन जोडे । तेस्रो विकेटका लागि मुश्फिकुर रहिम र सकिब अल हसनले ६१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

यी दुईबीचको साझेदारी ३० ओभरको दोस्रो बलमा मुजिवले सकिबलाई ५१ रनमा एलवी डब्लू आउट गर्दै तोडे । सकिबले ६९ बलमा १ चौका प्रहार गरे । सौम्य सरकारलाई मुजिवले ३ रनमा एलवी डब्लू आउट गरे । महमुदुल्लाहलाई कप्तान गुलबदीन नाइबले मोहम्मद नाबबाट ४३ ओभरको अन्तिम बलमा २७ रनमा क्याच आउट गराए । मोसाद्देक हसनले २४ बलमा ४ चौका सहित ३५ रन बटुले ।

अफगानिस्तानका लागि मुजिव उर रहमानले १० ओभरमा ३९ रन खर्चेर ३ विकेट हात पारे । कप्तान गुलवदीन नाइबले २ विकेट लिदा मोहम्मद नाबी र दवालत जदरानको नाममा समान १ विकेट रह्यो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.