एजेन्सी, असार १०
जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । बंगलादेशका अलराउन्डर सकीब अल हसनले घातक बलिङ गर्दै एक्लै पाँच विकेट लिएपछि अफगानस्तानमाथि बंगलादेशले सहज जित निकालेको हो ।
यो जितसँगै बंगलादेश ७ खेलमा समान ३ मा जित र हारका साथ ७ अंक बटुल्दै अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । अफगानिस्तानको भने लगातार सातौं हार हो । यो विश्वकपमा अफगानस्तानले एक खेल पनि जित्न सेकको छैन ।
बंगलादेशले दिएको २ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा अल आउट हुँदै २ सय रनमा समेटियो । अफगानिस्तानको लागि मध्यक्रमका समिउल्लाह शिनवारी ५१ बलमा ३ चौका र १ छक्का सहित ्४९ रनमा अविजित रहे । कप्तान गुलबदीन नाइबले ४७ रनको योगदान दिए । २९ ओभरको पहिलो बलमा सकीब अल हसनले लिटन दासबाट क्याच आउट गराउनु अघि नाइबले ७५ बलमा ३ चौका प्रहार गरे ।
ओपनर नाइब र रामत शाहले १०।५ ओभरमा ४९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । सकीबले रहमात शाहलाई तामिम इकवालबाट २४ रनमा क्याच आउट गराए । हशमतुल्लाह शाहिदी ११ रनमा स्टम्पिङ आउट भए । सकीबले पुर्व कप्तान अस्गर अफगानलाई ३३ ओभरको दोस्रो बलमा २० रनमा क्याच आउट गराए । त्यस अघि सकीबले २९ ओभरको तेस्रो बलमा मोहम्मद नाबीलाई शुन्यमा बोल्ड आउट गरेपछि बंगलादेश सहज जिततर्फ लम्केको थियो ।
त्यस्तै विकेटकीपर इकराम अलीखिल ११,नजिवउल्लाह जदरान २३,राशिद खान २,दलावत जदरान र मुजिव उर रहमान डक आउट भए ।
बंगलादेशलाई सहज जित दिलाउन सकीब अल हसनले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर ५ विकेट लिए । विश्वकपमा बंगलादेशबाट ५ विकेट लिने सकीब पहिलो क्रिकेटर हुन् । विश्वकपको एकै खेलमा ५ विकेट र अर्धशतक बनाउने सकीब दोस्रा खेलाडी बने । सकीब एक दिवसिय विश्वकप क्रिकेटमा ४ सय रन र १० विकेट लिने पहिलो अलराउण्डर समेत बनेका छन् । मुस्ताफिजुर रहमान २, मोहम्मद सैफुद्दीन र मोसाद्देक हसन नाममा समान १ विकेट रह्यो ।
त्यसअघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६२ रन बनाएको थियो । बंगलादेशका लागि विकेटकीपर मुश्फिकुर रहिमले उत्कृष्ट प्रर्दशन गरे । ४९ ओभरको तेस्रो बलमा मोहम्मद नाबीबाट क्याच आउट हुनुअघि रहिमले ८७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै महत्वपूर्ण ८३ रनको योगदान दिए ।
मध्यम सुरुवात गरेको बंगलादेशको पहिलो विकेटका रुपमा पाँचौ ओभरको दोस्रो बलमा मुजिव उर रहमानले लिटन दासलाई १६ रनमा क्याच आउट गराए । १७ ओभरको अन्तिम बलमा मोहम्मद नाबीले बोल्ड आउट गर्नुअघि अर्का ओपनर तामिम इकवालले ५३ बलमा ४ चौका प्रहार गर्दै ३६ रन जोडे । तेस्रो विकेटका लागि मुश्फिकुर रहिम र सकिब अल हसनले ६१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
यी दुईबीचको साझेदारी ३० ओभरको दोस्रो बलमा मुजिवले सकिबलाई ५१ रनमा एलवी डब्लू आउट गर्दै तोडे । सकिबले ६९ बलमा १ चौका प्रहार गरे । सौम्य सरकारलाई मुजिवले ३ रनमा एलवी डब्लू आउट गरे । महमुदुल्लाहलाई कप्तान गुलबदीन नाइबले मोहम्मद नाबबाट ४३ ओभरको अन्तिम बलमा २७ रनमा क्याच आउट गराए । मोसाद्देक हसनले २४ बलमा ४ चौका सहित ३५ रन बटुले ।
अफगानिस्तानका लागि मुजिव उर रहमानले १० ओभरमा ३९ रन खर्चेर ३ विकेट हात पारे । कप्तान गुलवदीन नाइबले २ विकेट लिदा मोहम्मद नाबी र दवालत जदरानको नाममा समान १ विकेट रह्यो ।