१२ असार, विराटनगर ।
१ नम्बर प्रदेशका ४ छुट्टाछुट्टै स्थानमा चट्याङले लागेर बुधवार ४ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।
बुधबार दिउँसो पौने ३ बजे मोरङको रङगेली नगरपालिका–९ दोहमना बजार छेउमा चट्याङ लागेर सोही स्थानका १४ बर्षीय अभत ऋषिदेव र १५ बर्षीय अनिल ऋषिदेव गम्भीर घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागि रङ्गेली अस्पताल पठाईएकोमा उपचारको क्रममा पौने ४ बजे दुवै जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै झापाको बाह्रदशी गाउँपालिका–५ का स्थानीय ५२ बर्षीय दुर्गा प्रसाद ओली र ६० बर्षीय पर्शुराम पाठक ओलीकै घरमा बसिरहेको अवस्थामा चट्याङ लागि दुबै जना घाईते भएका थिए । घाईतेलाई तत्काल उपचारको लागि बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा पाठकको मृत्यु भएको र अर्का घाईतेको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
त्यसै गरी झापाकै कचनकवल गाउँपालिका–२ बस्ने ३१ बर्षीया भुमा गाईने घर नजिकै बारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागि घाईते भएकी छन् । निजको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भईरहेको छ ।
यता सुनसरीको बराहा नगरपालिका–९ श्रीलंका टापुमा चट्याङ लागेर बिष्णु उराँवको ६ बर्षीय छोरा अभिषेक उराँवको घटनास्थलमा नै मृत्यु भएको छ । उनकी छोरी ४ बर्षीय पुष्पा उराँव घाईते भएकी थिईन् । घाईतेको स्थानीय क्लिनिकमा उपचार पश्चात डिस्चार्ज भईसकेको छ भने मृतकको शव परिक्षणको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।