पूँजी भित्र्याउने काम गर्न महावाणिज्यदुतहरुलाई प्रधानमन्त्रीको निर्देशन

पूँजी भित्र्याउने काम गर्न महावाणिज्यदुतहरुलाई प्रधानमन्त्रीको निर्देशन

१२ असार, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदुतहरुलाई नेपालको आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले काठमाडौंमा भेला भएका विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदुतहरुलाई बिहीबार विहान आफ्नै सरकारी निवास बालुवाटारमा सामूहिक भेट गरी सरकारले उच्च प्राथमिकतामा राखेको नेपालको आर्थिक विकासका लागि पूँजी र प्रविधि भित्र्याउने गरी प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकताको सेवा र सुरक्षाको उचित व्यवस्था गर्न पनि महावाणिज्यदुतहरुलाई सचेत गराए । त्यसैगरी उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउने गरी विदेशस्थित महावाणिज्य दूतहरुलाई गतिविधि अघि बढाउन पनि आग्रह गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदुतहरुको दुई दिने सम्मेलन काठमाडौंमा आयोजना गरेको थियो । सोही सम्मेलनमा भाग लिन आएका अवैतनिक महावाणिज्यदुतहरुले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन । भेटमा प्रधानमन्त्री ओलीले अवैतनिक महावाणिज्यदुतले निर्वाह गर्दै आएको भूमिकाको पनि प्रशंशा गरेका थिए ।

नेपालले हाल १६६ वटा मुलुकमा कूटनीतिक सम्बन्ध कायम राखेको छ । त्यसमध्ये ३२ वटा मुलुकमा मात्रै नेपालले राजदुतावासको व्यवस्था गरेको छ भने अन्य मुलुकहरुमा अवैतनिक महावाणिज्यदुतहरुको व्यवस्था गरेको छ । ती महावाणिज्य दुतहरुको भूमिकालाई प्रभावकारी बनाउन पनि नेपालमा सो सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा मूलतः नेपालको आर्थिक विकासका लागि आवश्यक पूँजी र प्रविधि भित्रयाउने विषयमा विस्तृत छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.