उपमेयर कपको उपाधि विराटनगरलाई

उपमेयर कपको उपाधि विराटनगरलाई

१२ असार, काठमाडौँ ।
प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगरले जितेको छ । बिहीबार हल्चोकस्थित एपीएफको फुटबल मैदानमा भएको फाइनल खेलमा विराटनगर महानगरपलिका मोरङले बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोकलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो । बाह्रबिसेका लागि सम्झना लावतीले गोल गरिन् भने विराटनगरकी जमुना मगरले गोल गरिन् । प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा सम्झना लावतीले गोल गर्दै बाह्रबिसेलाई अग्रता दिलाएकी थिइन् । उनले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको थियो । उनको बललाई विराटनगरकी कल्पना कार्कीले रोक्ने कुनै अवसर नै पाइनन् ।

पहिलो हाफमा १–० ले पछि परेको विराटनगरले दोस्रो हाफको शुरुमै बराबरी गोल फर्काउन सफल भयो । ४६औं मिनेटमा विराटनगरकी जमुना मगरले बराबरी गोल फर्काइन् । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टीसुटआउटमा धकेलिएको थियो ।

टाइब्रेकरमा बाह्रबिसेका सुष्मा तामाङ र अनु राईले लगातार दोस्रो र तेस्रो प्रहार चुकाउँदा विराटनगर विजयी रहयो । विराटनगर रेखा पौडेल, इमा राई, विधा राना र कप्तान मनमाया लिम्बुले गोल गरे ।

विराटनगरले उपाधिसहित ५ लाख रुपैया हात पार्यो भने दोस्रो भएको बाह्रबिसेले ३ लाख रुपैयाँमा चित्त बुझायो । जेठ ३१ गतेबाट शुरु भएको प्रतियोगितामा देशभरका १८ महानगर तथा नगरपालिकाले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.