१२ असार, काठमाण्डौ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं–निजगढ दू्रतमार्ग आयोजनाको डिपीआर सरकारले छिट्टै स्विकृत गर्ने बताएका छन् ।
मन्त्री महासेठले सो आयोजनाको डिपीआर नेपाली सेनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरेको स्विकार गर्दै त्यसलाई छलफल गरेर छिट्टै स्विकृत गर्ने प्रतिवद्धता व्यक्त गरे । बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उनले डिपीआरको अभावमा सो आयोजनाको काममा कुनै अवरोध नभएको दावी पनि गरे । यता, नेपाली सेनाले भने सो आयोजनाको डिपीआर स्विकृत नहुँदा काममा ढिलाई हुने देखिएको जनाएको थियो । तर मन्त्री महासेठले डिपीआरको अभावमा सो आयोजनाको काममा कुनै अवरोध नभएको दावी गरे । उनले तोकिएकै समयमा सो आयोजनाको काम सम्पन्न हुने गरी सरकारले आवश्यक सबै व्यवस्था नेपाली सेनालाई मिलाई दिएको पनि समितिलाई जानकारी दिए । डिपीआरको गहिरो अध्ययन गरेपछि सरकारले त्यसलाई स्विकृत गर्ने मन्त्री महासेठको भनाई छ । मन्त्री महासेठले सरकारले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको पनि बताए ।
बैठकमा समितिका सदस्यहरुले काठमाडौं–निजगढ दू्रतमार्ग आयोजनाको डिपीआर स्विकृत नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य एवम् नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले सो आयोजनाको डिपीआर स्विकृत गरेको भन्दै सरकारको आलोचना गरे । सांसद अधिकारीले सो आयोजनाको काम समयमै सम्पन्न हुने गरी आवश्यक व्यवस्था नेपाली सेनालाई मिलाई दिन पनि सरकारलाई सचेत गराएका थिए ।