१२ असार, २०७६ ।
बर्षा सुरु हुनै लाग्दा पनि घर निर्माण हुन नसकेको भन्दै बारा पर्साका हावाहुरी पिडीतले असन्तुष्टी जनाएका छन् ।
नेपाली सेनाले प्रभावितहरुकालागि आवास निर्माणको काम गरिरहेको भएपनि क्षतिको यथार्थ विवरण संकलन हुन नसकेका कारण सो बस्तीका केही परिवार घरवारविहिन हुने देखिएको छ । पहिलो अनुगमन निरीक्षणमा सबै पिडीतको नाम समावेश भएपनि सरकारले जग्गा नभएकाहरुको नाम सूचीबाट हटाएपछि समस्या भएको हो । अर्काको जमिनमा फुसको घर बनाएर बसेका र एका घरका दाजुभाईहरुको भिन्ना भिन्नै परिवारका लागि घर निर्माण गर्ने विषयमा सरकारले केही नभनेको भन्दै कलैया उपमहानगरपालिका वडा १८ भरवलियाले वेवास्ता गरेपछि पिडीत समस्यामा परेका हुन् ।
बाराका जिल्ला प्रशासन कार्यालयको विवरणमा सुरुमा बारा पर्सा गरी कुल १ हजार ४ सय ५३ घर निर्माणका लागि सिफारिस गरिएको माहाल फिल्डमा ’भेरिफिकेसन’ टोलीजाँदा ८ सय ८९ घर निर्माणका लागि आदेश आएको छ । कलैया उपमाहानगरपालिका , ८ नम्बर वडा कार्यालयले आफ्नो जग्गा नभएकाहरुका लागि घर निर्माण गर्ने बारे सरकारले केही निर्देशन नगरेकाले घर निर्माण गर्न नसकिने बताउदै आएको छ । अध्यक्ष अम्बिकाप्रसाद यादवले जग्गा नभएकाका लागि सरकारले जग्गाउपलब्ध गराएर घर निर्माणको पहल गर्नुपर्ने अन्यथा वडा कार्यालयले केहीगर्न नसक्ने बताए
गत चैत १७गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरीमा परी २९ जनाको मृत्यु भएको थियो । पिडितका लागि नेपाली सेनाले साउन मसान्तसम्म ८ सय ८९ वटा घर निर्माण गरि हस्तान्तरण गरिसक्ने जनाएको छ ।