एजेन्सी, असार १३
जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र दक्षिण अफ्रिका भिड्दै छन् । दुई देशबिचको खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखि सुरु हुनेछ ।
दुबै टोली जित्ने उच्च मनोबलका साथ मैदान उत्रिनेछन् । ७ खेलमा १ मा जित र ५ मा हारका साथ नवौं स्थानमा रहेको दक्षिण अफ्रिका उपाधि होडबाट बाहिरिसकेको छ । त्यसैले दक्षिण अफ्रिकाको लागि आजको खेल प्रतिष्ठाको लडाईंमात्रै हुने छ ।
त्यस्तै ६ खेलमा समान २ मा जित र हारका साथ सातौं स्थानमा रहेको श्रीलंकाको भने शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने झिनो अंक गणितीय संभावना बाँकी छ । अबका बाँकी सबै खेलमा विजयी भए र अन्य टोलीको नतिजा आफुअनुकु आएको खण्डमा श्रीलंका सेमिफाइनलमा पुग्न सक्ने अंक गणितीय झिनो संभावना देखिन्छ । आजको खेलमा पराजित भए श्रीलंकाको पनि अघिल्लो चरणको यात्रा लगभग समाप्त हुने छ ।
यसअघि उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्डलाई स्तब्ध पारेको श्रीलंकाको मनोबल पनि उच्च छ । श्रीलंकाका लागि कप्तान दिमुथ करुणारत्ने,तीब्र गतिका बलर लाथिस मलिङ्गा र कुशल परेरा प्रमुख हतियार हुन् । मिडिल अडरका ब्याट्सम्यानको खराब प्रर्दशनले श्रीलंका भने केहि समस्यामा देखिन्छ ।
यता आसा गरेभन्दा खराब प्रर्दशन गरि रहेको दक्षिण अफ्रिका लागि ओपनर क्विन्टन डी कक,कप्तान फाफ डु प्लेसिस र स्पिनर इमरान ताहिरको प्रर्दशन अफ्रिकाको लागि महत्वपूर्ण हुने छ । तीब्र गतिका बलर कागिसो रबडाको खराब प्रर्दशन अफ्रिकाको लागि ठूलो चिन्ताको विषय हो ।
विश्वकपमा यी दुई देशबीच ५ खेल भएको छ । जसमा दक्षिण अफ्रिका ३ खेलमा विजयी हुँदा १ मा पराजित भएको छ । एक खेल बराबरीमा सकिएको छ । यी दुईदेशबीच ७६ वान डे खेल भएको छ । जसमा दक्षिण अफ्रिका ४३ खेलमा विजयी हुँदा ३१ खेलमा पराजित भएको छ भने २ खेलको नतिजा विहिन छ ।